रुवीभ्यालीको छुट्टै संसार : स्वर्गजस्तो ठाउँमा अभावको चाङ

७ वर्ष अगाडि प्रकाशित
7 years अगाडि

11 views

शरीरको माथिल्लो भागमा बक्कु, शिरमा उनीको टोपी र शरीरको तल्लो भागमा सुरुवाल लगाएका अधबैंसेहरु आफ्नै सुरमा खेतीपाती या चौरी पालनमा लागेका छन् । आधुनिक जीवनशैलीमा रमाएका युवाहरुमा आधुनिकताको छाया देखिन्छ । हरेक घरबाट एक जनाको जस्तो विदेशिएकाहरुको यो गाउँमा युवाहरुको त खाँचै छ । तिनै अधबैंशेहरु सिल्भरको बाल्टीमा चौरीको दुध दुहुने गर्छन् । कोही कोही घरमा महिलाहरुले पनि दुध दुहुने गर्छन् । ठूला ठूला छप्पनी ढुंगाहरुमाथि जस्ताको छाना लगाएरको साना गोठहरुमा चौरीहरुको सुरक्षा गरिएको छ । तिनै चौरीहरुको लस्कर होस् या त दर्जनौं भेँडा बाख्राहरुको बथानसँगै उपत्यकाको पठारमा गोठालो जाने लामा दाइहरुले त्यो सुन्दर रुवी भ्यालीलाई झनै मोहित गराउने गरेका छन् । धादिङ सदरमुकाम धादिङबेसीबाट ३९ किमि उत्तरी भोगमा छ, यो गाउँपालिका । पश्चिमी तामाङ सभ्यताको उद्गम थलो ‘ल्हाप्साङ कर्पो’ क्षेत्रमा पर्ने यो रुवीभ्याली पुग्न अहिले केही सहज भएको छ । स्थानीयका अनुसार पहिले त सदरमुकाम धादिङबेसीबाट त्यहाँ पुग्न तीन दिनसम्म लाग्ने गर्दथ्यो । अहिले खनियाँबाससम्म गाडीमा गएर हिँड्दा पनि बिहान हिँड्दा सदरमुकामबाट एक दिनमा पुग्न सक्ने भएको स्थानीय दिलबहादुर घले बताउँछन् । समुद्री सतहदेखि ७ हजार मिटरको उचाईमा अवस्थित काठमाडौं उपत्यकाबाट पश्चिम उत्तरी भेगको एउटा विकट गाउँपालिका हो रुवीभ्याली । बढी जसो तामाङ जातिको बसोबास रहेको सो क्षेत्रमा गुरुङ, घले लगायतका जातिहरुको बसोबास छ । अधिकांश तामाङ बस्ती रहेको सो गाउँपालिकामा कोही स्यादे, आङदुङ मा सजिएका हुन्छन् । चे, गोकों, सुर्के, गुनी, स्यादे, शेल्दो जस्ता परम्परागत तामाङ पहिरनहरु अझै पनि पहिलो पुस्ताका मानिसहरुको पहिचान बनेको छ । दोस्रो पुस्तामा पुग्दा भने ती पोषाक लगाउनेहरु कम हुँदै गएको छ । गणेश हिमालको काखमा मेन्दोमाया भाकामा घोडा नाच नाच्नेहरु, लामा नाचमा आफ्नो कला देखाउनेहरुदेखि, झाँक्री नाचबाट संस्कृतिलाई प्रदर्शन गर्नेहरुले गाउँपालिकाको सुन्दरतालाई झनै थपेका छन् । त्यो हिमाली भेगमा उनीको टोपी, बाक्लो किसिमको सर्ट र तल कसैको कछाड र सुरुवाल सामान्यतयाः लगाउने गरेका छन् । मरेका मानिसहरुको सम्झनामा माने र छोर्तेन बनाउनेहरु त्यहाँका असली बुद्ध धर्मका अनुयायीहरु हुन् । घरमा आकर्षक पाङलिङ -काठको छानो)को पाखा हाल्ने अधिकांशो जीवनशैली बनेको छ र बाध्यता पनि । ४२४ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको यो गाउँपालिकामा पछिल्लो राष्टि्रय जनगणना अनुसार ९ हजार ५ सय ६२ जनाको बसोबास रहेको छ । त्यसमा पनि धेरै तामाङहरुको बसोबास रहेको यो गाउँपालिकाको ४ नं वडा चालिस भन्ने ठाउँमा गुरुङहरुको बसोबास धेरै छ । यसबाहेक घले, नेवार, विकहरुको पनि संख्या धेरै रहेको छ । बिजुलीको संकुचित वितरण आँधीखोला लगायतबाट करिब २०० मेघावाट विद्युत उत्पादन क्षमता रहेको यो गाउँपालिका अहिले लघु जलविद्युतको भरमा संकुचित रुपमा विजुली बाल्न बाध्य छ । सन्ध्याको आगमनसँगै गाउँपालिकाले नै सबै घरको लागि बत्ती खोल्ने गर्छ । तीनदेखि ४ वटा बल्ब मात्रै एउटा घरले बाल्न पाउँछन् । रात घर्किँदै गएपछि फेरि बत्ती बन्द हुन्छ । बिहान फेरि त्यसैगरी बत्ती दिइन्छ । उज्यालो भएपछि फेरि बत्ती बन्द गरिन्छ । गाउँपालिकाका प्रमुख चेरुङ गुरुङका अनुसार त्यो लघु जलविद्युतले पुरै गाउँलाई विद्युत नपुग्ने भएकोले साँझमा दुई तीन घण्टामात्रै बत्ती दिने गरिएको हो । ‘यस गाउँपालिकामा बिजुली छैन । माइक्रो हाइड्रोबाट सीमित मात्रामा बत्ती बाल्ने गरिएको छ ।’ अनलाइनखबरसँगको कुराकानीमा उनले भने ‘पूरै वडाको विद्युतको मागलाई यसले पुरा गर्न सक्दैन । २ ३ वटा चिममात्रै यसबाट बाल्न सकिन्छ । बेलुका ६ बजेदेखि बिजुली अन हुन्छ । तर, उज्यालो हुने बित्तिकै फेरि अफ गरिहाल्छौँ ।’ अनुपम सुन्दरताको खानी यो गाउँपालिकाले नेपालीलाई ‘मेन्दोमाया’को भाका सिकायो । यही भूमिले गीत गाउँदा गाउँदै तरुना तरुनीले एक अर्कोलाई मन पराए भने बिहे नै गर्ने प्रचलन अझै जीवित राखेको छ । थोरै खर्चमा सुन्दर वातावरणको आश्वाधन गर्न चाहनेहरुलाई पनि निराश बनाएर पठाउने गरेको छैन । यही गाउँपालिकाको दोरादेखि घोडा नाच, लामा नाच र झाँक्री नाचले अझैपनि पर्यटकहरुलाई बोलाइरहेका छन् । सबैतिर आ आफ्नै शैलीमा मनाइने लाखे नाच यो गाउँपालिकामा भिन्दै किसिमले मनाइन्छ । माने नाचले पर्यटक लोभ्याउँछ । पारु नाच पनि यही उपत्यकाको एउटा मौलिक पहिचान हो । रुवीभ्याली यात्राको अर्को विशेषता यहाँको दशैंको माहौल हो । त्यही दशैंलाई स्थानीय भाषामा ‘मार हान्ने’ पर्वको रुपमा चिन्ने गरिन्छ । यही पर्वमा युवाहरुले दशैंमा राँगा काट्ने गर्छन् । रुवीभ्यालीको नामाकरण गाउँपालिकाका अधिकारीहरुका अनुसार हिमालले घेरेको योे गाउँपालिका रुवीको लागि चर्चित ठाउँ हो । रुवी मात्र नभएर यहाँ सिसाखानी तथा फलामखानी पनि रहेको अध्यक्ष गुरुङ बताउँछन् । उनका अनुसार केही समय अघिसम्म त त्यहाँ कुटो कोदालोले खन्दा पनि रुवी पाउने गरिएको स्थानीयहरु बताउँछन् । त्यसैले यो गाउँपालिकाको नाम नै रुवी भ्याली राखिएको हो । घले राजा र मेल्बु दरबार केही समय अघि एक आलेख मार्फत् यादव देवकोटाले रुवी भ्यालीको व्याख्या गर्ने क्रममा लेखेका छन् ‘लसर्घाको घले राज्य जैन खानहरुले कब्जा गरेका थिए । कास्की, रजस्थल, क्होलका घले राज्य जगातीखान शाहीले कब्जा गरे । लमजुङको घले राज्य जसवम  (यशोब्रहृम) शाहीले, लिगलिग, तल्लो र उपल्लोकोट, सिरानचोक, अजिरकोटको घले राज्य र माझकोटको खड्का राज्य द्रव्य शाहले कब्जा गरे । बारपाक, स्यातान, अठारसयखोला, सल्यान, बसेरी, चरङगे, खरिमैधी, धादिङका घले राज्यहरू राम शाहले र राम शाहपछि पुन घले मुखिया थापेर बसेका धादिङ, कटुन्जे, बसेरी, साम्रीका घलेराज्यहरू नरभूपाल शाहले कब्जा गरेका थिए ।’ त्यहाँ घलेहरुको एउटा मेल्बु दरबारका बारेमा धेरै किंवदन्तीहरु पाइन्छ । यद्यपि त्यो दरबार कहाँ थियो ? भन्ने बारेमा यकीन जानकारी छैन । यही क्षेत्रका म्हाने र तान्त्रिक महांकाल जात्रादेखि गुरुङ समुदायको घाटु पनि प्रचलित रहेको घले बताउँछन् । शिक्षामा दयनीय अवस्था शिक्षाको कुरा गर्दा यो स्थानीय तहमा निकै दयनीय अवस्था रहेको छ । सेर्तुङको बोराङ भन्ने ठाउँमा प्लस २ सम्मको मुक्रावदेवी उमावि सञ्चालनमा छ । त्यस्तै, तिप्लिङको दोङ्देन मावि, लब्दुङमा एउटा अर्काे मावि छ । त्यस्तै, लापामा पनि एउटा लापा मावि रहेको छ । यसरी कूल ६ वटा वडामा २१ वटा विद्यालयहरु छन् । यद्यपि धेरै बालबालिकाहरु स्कूल जाने गरेका छैनन् । यातायात र ढुवानी यातायातको हिसाबले हेर्दा यो गाउँपालिकामा रोडका ट्रायाकहरुले मात्रै छोएको छ ।  सडकहरु छैनन् । अहिले खनियाबासको पेप्चोसम्म सडक सञ्जाल जोडिएको छ । सवारी साधन नभएकोले खच्चडहरुबाट ढुवानी गर्ने गरिएको छ । भूकम्पले भत्किएको घर निर्माणका लागि उनीहरुले मान्छेले नै बोकेर रड लैजाने गरेका छन् । अहिले गाउँपालिकाको केन्द्र रहेको तिप्लिङसम्म रसुवा हुँदै आएको बाटोले छोएको छ । अहिले धादिङबाट आउने बाटोको पनि ट्र्याक खोल्ने काम चलिरहेको बताइएको छ । खानपिन खानपिनमा यो भेगमा मकै कोदो, सिमी, आलुहरु धेरै पाउने गरिएको छ । तल्लो भेगका मानिसहरु बजारबाट चामलहरु ल्याएर खाने गरेका छन् । उत्पादनको हिसाबले त्यो गाउँपालिकामा धेरै आलु, मकै, कोदो, जौँ, गहुजस्ता खेतीका माटो एकदम उर्बर छ । बिहान बेलुका मकै या कोदोको खाना खानेे गरिन्छ । प्रायः सबै जातिहरुको खानपिन एकै किसिमको हुने गरेको पाइन्छ । गाउँपालिका केन्द्र र वडा कार्यालय नै एकदिनको बाटोमा  तिप्लिङको लिंङ्जो भन्ने ठाउँबाट ५ नं वडा कार्यालयमा पुग्नको लागि, नेवेरबाट लापा ठूलो गाउँमा रहेको वडा कार्यालय पुग्नकेा लागि एक दिनभन्दा धेरै समय लाग्ने गर्छ । त्यस्तै, हिम्जोङबाट बोराङमा रहेको गाउँपालिका केन्द्रमा आउनको लागि पनि ५/६ घण्टा लाग्ने गर्छ । यसले पनि सरकारी सुविधाहरु ती गाउँहरुमा पुग्न सकेका छैनन् । स्वास्थ्य समस्या जस्ताको त्यस्तै गाउँपालिकामा तीन वटा स्वास्थ्य चौकी रहेकोमा ती केन्द्रहरुमा रुघाखोकी आदि लाग्दा मात्रै उपचार हुने गर्छ । विशेषज्ञ चिकित्सकहरु पुग्दैनन् । सामान्य किसिमका औषधिहरु पनि समयमा पाईंदैन । जडिबुटीमा बहुमुल्य यार्सागुम्बादेखि पाँचऔले आदि पाइन्छ । यही नै यो क्षेत्रको औषधिको स्रोत हो । पर्यटनमा सम्भावना प्राकृतिक सुन्दरताले भरिपूर्ण यो गाउँपालिका पर्यटनको लागि असीम सम्भावना बोकेको क्षेत्र हो । भू आकृतिमा झन्डै गोलाकार आकारमा रहेको रुवीभ्याली गाउँपालिकाको भौगोलिक फैलावट पूर्वमा रसुवा जिल्ला, पश्चिममा गोरखा जिल्ला, उत्तरमा चीन तिब्बत र दक्षिणमा खनियाबास गाउँपालिका र गङ्गा जमुनासँग जोडिएको छ । पाविल हिमाल, गणेश हिमालको काखमा रहेको यो पालिकाको मनोरञ्जन हिमदृश्य, हिमालय पर्वतबाट उत्पति भई यस गाउँपालिकाको बीच भाग र जिल्लाको पनि लगभग बीच भागमा अविरल बग्ने आँखुको सौन्दर्यता, प्राकृतिक सम्पदाको रुपमा यस पालिकामा रहेको कालो दह, सेतो दह, तातोपानी कुण्ड, पाङसङ भ्यु, माङने डाँडा, नाकपोखरी, दोङदेन पोखरी, गोठेन माने, गणेशकुण्ड, मेल्बु दरबार इत्यादि सांस्कृतिक विविधता एवं सामाजिक संयोजनको संगमस्थल नै यो गाउँपालिका रहेको अध्यक्ष गुरुङ बताउँछन् । वन्यजन्तुमा रेडपान्डा, कस्तुरी  तथा घरपालुवामा चौरी च्याङ्ग्रा लगायत यहाँ पाइन्छ । चार्डपर्वहरु  चार्डपर्वको कुरा गर्दा यो गाउँपालिका बौद्ध धर्मालम्बीहरुको बसोबास धेरै भएको क्षेत्र हो । साथमा दोस्रो स्थानमा कि्रश्चियन धर्मालम्बीहरु पनि २५ प्रतिशतको हाराहारीमा रहेका छन् । त्यसैले यहाँका मानिसहरुले लोसार, क्रिसमस, दशैं तिहार जस्ता पर्वहरु मनाउँछन् ।

प्रतिक्रिया

COMMENTS TEST

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर

ताजा समाचार

Lekali News copyright © 2019 News. All Rights Reserved.