आज विश्व पानी दिवस, सरकारले सुन्दरीजलमा विशेष कार्यक्रम गर्दै

४ वर्ष अगाडि प्रकाशित
4 years अगाडि

5 views

प्रत्येक वर्ष मार्च २२ तारिखका दिन विश्वभर मनाइने विश्व पानी दिवस आज नेपालमा पनि विभिन्न जनचेतनाका कार्यक्रम गरी मनाइँदैछ। संयुक्त राष्ट्रसङ्घको आयोजनामा सन् १९९२ मा ब्राजिलको रियो द जेनेरियोमा भएको पर्यावरण र विकाससम्बन्धी महासभाले विश्व पानी दिवसको घोषणा गरेको हो।

सन् १९९२ मा एजेण्डा २१ मा समाहित गरिएको पानी दिवसको रूपरेखालाई आत्मसाथ गर्दै सन् १९९३ देखि मार्च २२ तारिखका दिन विश्वभर यो दिवस मनाउन थालिएको थियो। पञ्च तत्वमध्येको एक पानी सबै जीव र वनस्पतिका लागि आवश्यक मानिन्छ।

पानी भएकै स्थानमा जीवन सम्भव हुन्छ। पानी नभएको स्थानमा जीवन सम्भव छैन। यसैले पानी नै जीवन हो भन्ने गरिन्छ। जीव र वनस्पतिका लागि जन्ममात्र पर्याप्त हुँदैन बाँच्नका लागि स्वच्छ पानी आवश्यक पर्छ। पिउने पानी स्वच्छ र सुरक्षित भयो भने ८० प्रतिशत रोग नै लाग्दैनन् भनिन्छ।

पृथ्वीको दुईतिहाइ भाग पानीले ढाकेको छ। तर सबै पानी पिउन योग्य छैन। समुद्र र महासागरको पानी नुनिलो छ। जसले पृथ्वीको ९७.५ प्रतिशत भाग ओगटेको छ। २.५ प्रतिशत पानीमात्र ताजा, स्वच्छ र पिउनका लागि योग्य छ। यसमध्येको ठूलो अंश अर्थात् १.७२ प्रतिशत पृथ्वीको उत्तरी र दक्षिणी ध्रुवमा हिउँको रूपमा रहेको छ। ०.७४ प्रतिशत भूमिगत स्रोतका रूपमा जमिनमुनि रहेको छ। जमिनको सतहमा रहेको ०.०४ प्रतिशत पानीमात्र मानवका लागि पिउन योग्य छ।

नेपाल विश्वमै जलस्रोतमा दोस्रो ठूलो देश भनिए पनि धेरै सहर, बजार र गाउँमा खानेपानीको समस्या छ। पाइप प्रणालीबाट ८८ प्रतिशत पानी पुगेको सरकारी दाबी छ। संविधानको मौलिक हकका रूपमा स्वच्छ खानेपानीको हक लेखिए पनि कार्यान्वयन हुन नसकेको गुनासो छ। यस्तै विषयमा जनचेतना जगाउँदै पानी दिवस मनाउने गरिएको छ।

दिवसको यस वर्षको नारा ‘अदृश्य भूमिगत पानीलाई दृश्य बनाऔँ’ रहेको छ। यो नाराका साथ आज बिहान खानेपानी मन्त्रालयलगायत सरोकार भएका निकायको आयोजनामा सुन्दरीजलमा विशेष कार्यक्रम गर्न लागिएको छ। कार्यक्रममा खानेपानीमन्त्री उमाकान्त चौधरीलगायत अधिकारीहरूको सहभागिता रहने जनाइएको छ।

प्रतिक्रिया

COMMENTS TEST

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर

ताजा समाचार

Lekali News copyright © 2019 News. All Rights Reserved.