के नेपाल युक्रेनको पक्षमा उभिनु ठिक हो ?

४ वर्ष अगाडि प्रकाशित
4 years अगाडि

7 views

युक्रेनमाथि एक महिनादेखि रूसले गरिरहेको आक्रमणमा नेपालले फेरि आफूलाई युक्रेनका पक्षमा उभ्याएको छ।

बिहीबार राति राष्ट्रसंघको महासभामा युक्रेनलगायत मुलुकले तयार पारेको मानवीय सहायतासम्बन्धी प्रस्तावमा नेपालले पक्षमा भोट हालेको छ। महासभाको ११ औं आपतकालीन विशेष सत्रमा युक्रेनमा मानवीय सहायतासम्बन्धी प्रस्ताव दुई तिहाइ बढी सदस्यहरूको मतबाट पारित भएको छ।

राष्ट्रसंघका १९३ सदस्यमध्ये प्रस्तावको पक्षमा १४० भोट आएको थियो भने विपक्षमा पाँच भोट परेको थियो। विपक्षमा भोट हाल्नेमा रूस, सिरिया, उत्तर कोरिया, इरेट्रिया र बेलारूस थिए। नेपालका दुई छिमेकी भारत र चीनसहित ३८ मुलुक मतदानमा अनुपस्थित भएका थिए। यसअघि बुधबार संयुक्त राष्ट्र संघीय सुरक्षा परिषदमा रूसले राखेको युक्रेनमा मानवीय सहायतासम्बन्धी प्रस्ताव चीनबाहेक अरू १३ सदस्यले साथ नदिएपछि असफल भएको थियो। महासभामा दक्षिण अफ्रिकाले पनि अर्को प्रस्ताव तयार पेस गरेको थियो।

रूसी आक्रमणबारे उल्लेख नगरी तयार पारिएको उक्त प्रस्तावमा मतदान नै भएन। युक्रेनी प्रतिनिधिले एउटै विषयमा फरक प्रस्ताव पारित गर्नु नहुने बताएपछि दक्षिण अफ्रिकाको प्रस्ताव मतदान प्रक्रियामा नगएको हो। राष्ट्रसंघको महासभाले युक्रेनमाथि रूसी आक्रमणको आलोचना गर्दै प्रस्ताव पारित गरेको यो दोस्रो पटक हो। पहिलो पटकको मतदानमा पनि नेपाल युक्रेनको पक्षमा उभिएको थियो।

गत फेब्रुअरी २४ मा रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले विशेष सैन्य कारबाही भन्दै युक्रेनी भूमिमा सेना पठाएपछि नेपालले हरेक मुलुकले अर्को मुलुकको सार्वभौमिकताको सम्मान गर्नुपर्ने बताएको थियो। त्यसपछि राष्ट्रसंघका विभिन्न एजेन्सीमा भएका मतदानमा नेपाल युक्रेनको पक्षमा उभिँदै आएको छ।

प्रतिक्रिया

COMMENTS TEST

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर

ताजा समाचार

Lekali News copyright © 2019 News. All Rights Reserved.