एनआरएनएले बोलायो आकस्मिक बैठक


गैरआवासीय नेपाली संघ (एनआरएनए) ले आकस्मिक बैठक बोलाएको छ। संघका महासचिव डा. हेमराज शर्माका अनुसार संघको बैठक शुक्रबार नेपाली समय अनुसार राति ९ बजेका लागि बोलाइएको हो। 

शर्माका अनुसार संघको ८३ औं बैठकमा शनिबारदेखि शुरू हुने १० औं महाधिवेशन तथा विश्व सम्मेलनको तयारीको बारेमा छलफल हुनेछ।  बैठकमा संघका पूर्वअध्यक्ष शेष घलेद्वारा आयोजित एक भेलामा संलग्नमाथि कारवाही सम्बन्धमा समेत छलफल हुनेछ। 

अध्यक्ष कुमार पन्तको अध्यक्षतामा बस्ने बैठकमा पाटन उच्च अदालतको अन्तरिम आदेश र निर्वाचन सम्बन्धी मुद्दाहरूको अजेण्डा प्रस्तुत हुनेछ। गैरआवासीय नेपाली संघ (एनआरएनए) को दशौं अन्तर्राष्ट्रिय सम्मेलन तथा महाधिवेशनमा शनिबारदेखि ललितपुरस्थित होटल हिमालयमा हुँदैछ। दुई दिनसम्म चल्ले सम्मेलनमा संघका महासचिव डा. हेमराज शर्माले वार्षिक प्रतिवेदन र कोषाध्यक्ष महेश श्रेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नेछन्। 

संघको नेतृत्वको लागि भएको विवादलाई अन्त्य गर्न बहुअध्यक्षीय प्रणालीको लागि महाधिवेशनमा विधान संशोधन गर्ने तयारी गरिएको छ।

चैत्र ११, २०७८ मा प्रकाशित

131 views

प्रतिक्रिया

मुख्य समाचार