
चैत २७ , पाकिस्तानी संसदले पाकिस्तानी प्रधानमन्त्री बिरुद्ध अविस्वासको प्रस्ताव पास गरेको छ ।
गएराति भएको भोटिङमा संसदले अविश्वासको प्रस्ताव १७४ मतले पारित भएपछि इमरान खानको प्रधानमन्त्री पद गुमेको हो । सन् २०१८ को अगष्टमा पाकिस्तानको प्रधानमन्त्री बनेका इमरान खान पूर्वराष्ट्रिय क्रिकेट खेलाडी समेत थिए । प्रधानमन्त्री इमरान खानले अविश्वास प्रस्ताव खारेज गरेर संसद अधिवेशन स्थगित भएलगत्तै राष्ट्रपति आरिभ अल्भीसमक्ष संसद विघटन गर्न सिफारिस गरेका थिए।
विपक्षी दलहरुले उच्च महँगी र सुशासनलाई प्रमुख मुद्दा बनाएर सरकारविरुद्ध अविश्वास प्रस्ताव ल्याएका थिए । अल्पमतमा परेपछि खानले गरेको संसद विघटनलाई अदालतले पुनस्थापना गरिदिएको थियो । त्यसपछि गएराति संसदमा अविश्वास प्रस्तावको पक्ष र विपक्षमा भोटिङ भएको थियो ।
पाकिस्तानको नेश्नल एसेम्बलीमा ३४२ सदस्य हुन्छन् । विपक्षी दलहरुले १७२ सिट मात्रै पुर्याए पनि अविश्वास प्रस्ताव पास हुन्थ्यो । तर अविश्वासको प्रस्तावमा १७४ मत पर्यो । अविश्वास प्रस्ताव पास भएपछि सदनलाई सम्बोधन गर्दै पीपीपीका अध्यक्ष बिलावल भुट्टो जरदारीले १० अप्रिलको ऐतिहासिक महत्व भएको बताए । उनले १० अप्रिल १९७३ मा नै पाकिस्तानको संविधानलाई संसदले पारित गरेको स्मरण गराए । उनले भने, ‘पुरानो पाकिस्तानमा तपाईंहरुलाई स्वागत छ । कुनै पनि कुरा असम्भव छैन ।
चैत्र २७, २०७८ मा प्रकाशित