
आजको व्यस्त जीवनशैली, अनियमित खानपान, मानसिक तनाव र शारीरिक निष्क्रियताले मानिसलाई विभिन्न रोगको शिकार बनाइरहेको छ। यस्तो अवस्थामा स्वस्थ रहनका लागि औषधिभन्दा पनि प्रभावकारी उपायको रूपमा योग विश्वभर लोकप्रिय बन्दै गएको छ। नेपाल तथा भारतजस्ता देशमा हजारौँ वर्षअघि विकसित भएको योग आज विश्व स्वास्थ्यका लागि अपनाइने अति महत्वपुर्ण जीवनशैली बनेको छ।
योग केवल शरीर मोड्ने वा कठिन आसन गर्ने अभ्यास मात्र नभएर शरीर, मन र आत्मालाई सन्तुलित राख्ने समग्र विज्ञान पनि हो। संस्कृत शब्द 'युज्' धातु बाट बनेको योगको अर्थ जोड्नु वा एकतामा ल्याउनु हो। योगले शरीर, मन र चेतनाबीच सन्तुलन कायम गर्न मद्दत गर्छ।
योग किन आवश्यक छ?
मानिसको स्वास्थ्य केवल निरोगी हुनु मात्र नभएर शारीरिक, मानसिक, सामाजिक र भावनात्मक सम्पूर्ण रुपमा नै स्वस्थ हुनु पनि हो। योगले यी सबै पक्षलाई सन्तुलित बनाउने प्रयास गर्छ।
योग नियमित गर्ने व्यक्तिमा निम्न परिवर्तन देखिन सक्छन्–
- शरीर लचिलो र बलियो बन्छ।
- तनाव, चिन्ता र मानसिक अशान्ति कम हुन्छ।
- ध्यान केन्द्रित गर्ने क्षमता बढ्छ।
- निद्रा राम्रो हुन्छ।
- रोग प्रतिरोधात्मक क्षमता सुधार हुन्छ ।
- दैनिक काम गर्ने ऊर्जा र उत्साह प्राप्त हुन्छ।
योगका प्रमुख फाइदाहरू
१. शारीरिक स्वास्थ्यमा सुधार
योगका विभिन्न आसनले मांसपेशी, जोर्नी र मेरुदण्डलाई लचिलो बनाउँछन्। नियमित अभ्यासले शरीरको सन्तुलन र सहनशक्ति बढाउन मद्दत गर्छ।
२. मानसिक तनाव कम गर्न सहयोग
प्राणायाम, ध्यान र विश्राम अभ्यासले तनाव कम गर्न र मनलाई शान्त बनाउन सहयोग गर्न सक्छ। नियमित अभ्यासले चिन्ता व्यवस्थापनमा पनि मद्दत पुर्याउन सक्छ।
३. मुटु र श्वासप्रश्वासको स्वास्थ्य
गहिरो श्वासप्रश्वासका अभ्यासले फोक्सोको कार्यक्षमता सुधार्न र रक्तसञ्चारलाई सहयोग गर्न सक्छ। केही अध्ययनले नियमित योगले रक्तचाप नियन्त्रणमा सहयोग पुर्याउन सक्ने देखाएका छन्।
४. मधुमेह र मोटोपन नियन्त्रणमा सहयोग
योग स्वस्थ खानपान र नियमित जीवनशैलीसँग मिलाएर गर्दा तौल नियन्त्रण तथा रगतमा चिनीको स्तर व्यवस्थापनमा सहयोगी हुन सक्छ।
५. रोग प्रतिरोधात्मक क्षमता
योगले राम्रो निद्रा, तनाव व्यवस्थापन र नियमित शारीरिक गतिविधिमार्फत समग्र स्वास्थ्यलाई सहयोग गर्छ, जसले प्रतिरक्षा प्रणालीलाई सकारात्मक प्रभाव पार्न सक्छ।
६. राम्रो निद्रा
अनिद्राको समस्या भएका धेरै व्यक्तिले नियमित योग र ध्यान अभ्यासपछि निद्राको गुणस्तरमा सुधार अनुभव गर्ने गरेका छन्।
७. विद्यार्थी र कर्मचारीका लागि उपयोगी
विद्यार्थीमा स्मरणशक्ति, ध्यान र एकाग्रता बढाउन तथा कर्मचारीमा कार्यक्षमता र मानसिक सन्तुलन कायम राख्न योग उपयोगी हुन सक्छ।
योग गर्ने सबैभन्दा उपयुक्त समय
योगका लागि बिहान ब्रह्ममुहूर्तदेखि सूर्योदयसम्मको समय सबैभन्दा राम्रो मानिन्छ। यस समयमा वातावरण शान्त, हावा स्वच्छ र शरीर तथा मन ताजगीको अवस्थामा हुन्छ।
यदि बिहान सम्भव नभए:
- साँझ सूर्यास्तअघि वा हल्का खाना खाएको ३–४ घण्टापछि पनि योग गर्न सकिन्छ।
- खाली पेट वा हल्का पेटमा योग गर्नु उपयुक्त हुन्छ।
- योग गर्दा ध्यान दिनुपर्ने कुराहरू
- योग सुरु गर्नु अघि शरीरलाई हल्का वार्मअप गर्नुहोस्।
- आरामदायी र खुकुलो कपडा लगाउनुहोस्।
- समथर र सफा स्थानमा योग गर्नुहोस्।
- योगपछि केही समय शवासन वा विश्राम गर्नुहोस्।
- शरीरको क्षमताभन्दा बढी बल प्रयोग नगर्नुहोस्।
- कुनै दीर्घरोग, शल्यक्रिया, गर्भावस्था वा विशेष स्वास्थ्य समस्या भए प्रशिक्षक र चिकित्सकको सल्लाह अनुसार अभ्यास गर्नुहोस्।
योग सबैका लागि एउटै हुँदैन
- हरेक व्यक्तिको उमेर, स्वास्थ्य अवस्था र शारीरिक क्षमता फरक हुन्छ। त्यसैले एउटै आसन सबैका लागि उपयुक्त नहुन सक्छ।
- उच्च रक्तचाप भएका व्यक्तिले केही उल्टा आसनबाट बच्नुपर्ने हुन सक्छ।
- गर्भवती महिलाले विशेष गर्भावस्था योग मात्र गर्नुपर्छ।
- मेरुदण्ड, घुँडा वा हड्डीसम्बन्धी समस्या भएका व्यक्तिले प्रशिक्षकको निगरानीमा मात्र अभ्यास गर्नु उपयुक्त हुन्छ।
योग सुरक्षित अभ्यास मानिए पनि केही अवस्थाहरूमा विशेष सावधानी आवश्यक हुन्छ।
- ज्वरो वा गम्भीर संक्रमण भएको बेला
- हालै शल्यक्रिया भएको अवस्थामा
- हड्डी भाँचिएको वा गम्भीर चोट लागेको अवस्थामा
- अत्यधिक चक्कर आउने समस्या
- गम्भीर मुटुरोग भएका बिरामी
- चिकित्सकले शारीरिक विश्राम गर्न सल्लाह दिएको अवस्था
यी अवस्थाहरूमा चिकित्सक वा प्रमाणित योग प्रशिक्षकको सल्लाह बिना योग सुरु गर्नु उपयुक्त हुँदैन।
योग केवल व्यायाम होइन, जीवनशैली हो । योगले मानिसलाई केवल स्वस्थ शरीर मात्र होइन, सकारात्मक सोच, अनुशासन, आत्मविश्वास र आत्मचेतनाको विकास गर्न प्रेरित गर्छ। नियमित अभ्यासले दैनिक जीवनमा धैर्यता, सन्तुलन र सकारात्मक दृष्टिकोण विकास गर्न सहयोग पुर्याउँछ।
निष्कर्ष
स्वास्थ्य नै सबैभन्दा ठूलो सम्पत्ति हो। आधुनिक जीवनशैलीका कारण बढ्दै गएका तनाव, मोटोपन, मधुमेह, उच्च रक्तचाप र मानसिक समस्याबाट बच्न योग प्रभावकारी जीवनशैलीको एक भाग बन्न सक्छ। दिनको केवल ३० मिनेट देखि १ घण्निटा यमित योग अभ्यासले शारीरिक तन्दुरुस्ती, मानसिक शान्ति र जीवनको गुणस्तरमा सकारात्मक परिवर्तन ल्याउन सहयोग गर्न सक्छ।
"योग केवल रोग निको पार्ने माध्यम होइन, रोग लाग्न नदिने स्वस्थ जीवनशैलीको आधार हो।"