भीरबाट लडेर एक महिलाको मृत्यु   


रेसुङ्गा, १८ साउन 
गुल्मीमा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ । घाँस काट्ने क्रममा भीरबाट लडेर महिलाको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार मुसिकोट नगरपालिका–४ डाँडाथोक बस्ने ३६ वर्षीया फुलकुमारी नेपालीको मृत्यु भएको हो ।    
    
नेपाली आफ्ना छोरीहरूसँग स्थानीय ढुङ्गेठाँटी हर्लेखानी सामुदायिक वनमा घाँस काट्न जानुभएको थियो । करिब दुई सय मिटर तल खसेकी नेपालीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिनुभयो ।    
    
घटनाको थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक रवीन्द्रकुमार श्रेष्ठको नेतृत्वमा पाँच जनाको टोली घटनास्थलतर्फ गएको जनाइएको छ । मृतकको शव घाँस काट्न गएका स्थानीय महिला मिलेर घरमा ल्याई राखिएको छ । घटनासम्बन्धी थप अनुसन्धान गरिने प्रहरीले जनाएको छ । यो घटना बिहान ९ बजे भएको हो ।    
–––  

साउन १८, २०८० मा प्रकाशित

126 views

प्रतिक्रिया

मुख्य समाचार