‘क्युआर कोड’मार्फत सुझाव सङ्कलन गर्दै प्रशासन   


मङ्गलबारे (इलाम), २४ असोज : प्रविधिअनुसार सरकारी कार्यालय सञ्चालन हुन नसकेको गुनासो भइरहँदा जिल्ला प्रशासन कार्यालय इलामले भने क्युआर कोडमार्फत सेवाग्राहीको सुझाव सङ्कलन सुरु गरेको छ । कार्यालयले प्रदान गर्ने सेवा, गर्नुपर्ने सुधारलगायत विषयमा सेवाग्राहीको सुझाव सङ्कलन सुरु गरेको हो ।    
    
 सेवा प्रवाहका बारेमा नागरिकको धारणा, सन्तुष्टिको स्तर, सुझाव सल्लाहका साथै सुधार गर्नुपर्ने पक्षलगायतका बारेमा क्युआर कोडमार्फत सुझाव सङ्कलन गर्न सुरु गरिएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोख्रेलले बताउनुभयो । सेवा प्रवाहमा सरकारी कार्यालय पनि अब्बल बन्नुपर्ने भन्दै क्युआर कोडको अभ्यास सुरु गरिएको उहाँको भनाइ थियो ।    
    
 “सेवाग्राहीले आफ्नो मोबाइलबाट क्युआर कोड स्क्यान गरी दिइएका प्रश्नमा गई आफ्ना धारणा व्यक्त गर्न सक्नेछन्”, प्रजिअ पोख्रेलले भन्नुभयो, “क्युआरमार्फत कार्यालयबाट प्रवाह हुने सेवाको प्रकार, सेवा प्राप्त गर्न लागेको समय, कर्मचारीको व्यवहार, अतिरिक्त रकम तिर्नु परे÷नपरेको अवस्थालगायत विषयमा प्रश्न समेटिएका छन् ।”    
    
 उहाँका अनुसार कार्यालयबाट सेवा प्राप्त गर्न सकिएन भने त्यसको कारणसमेत जान्न पाएको वा नपाएकोसम्मको जानकारी लिन सकिने छ । यो कार्य जिल्लाकै लागि पहिलो अध्यास भएको पोख्रेलले बताउनुभयो । उहाँले सेवाग्राहीलाई छिटोछरितो रुपमा सेवा उपलब्ध गराउने उद्देश्यले यो कार्यको थालनी गरिएको जानकारी दिनुभयो ।    
---  

अशोज २४, २०८० मा प्रकाशित

136 views

प्रतिक्रिया

मुख्य समाचार