उद्योग समितिले गर्‍याे बजार अनुगमन गर्न समिति गठन


काठमाडौं । संघीय संसद प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले बजार अनुगमन गर्न उपसमिति गठन गरेको छ । आइतबार सिंहदरबारमा बसेको बैठकले बजारमा कालोबजारी बढेको निष्कर्ष निकाल्दै बजार अनुगमन गर्ने निर्णय गरेको जनाएको छ । समिति सदस्य नरबहादुर धामीको संयोजकत्वमा गठन भएको समितिले ७ सदस्यीय टोली गठन गरेर बजार अनुगमन गर्ने भएको छ । उपभोक्ताहरुले दैनिक प्रयोग गर्ने खाद्य वस्तुहरुको मूल्य अत्याधिक बढेकाले बजार अनुगमन गर्न समिति सदस्य उपभोक्ता हित अनुगमन उपसमिति गठन गरेको हो । उपसमितिले दूध, पानी, दाल, चामल, तेल, औषधिलगायतका उपभोग्य वस्तुहरुमा भइरहेको कालोबजारी, मुल्यवृद्धि, कार्टेलिङ, सिन्डिकेट, गुणस्तरलगायतको अनुगमन गर्ने छ । उपसमितिले एक महिनाभित्र बजार अनुगमन प्रतिवेदन बुझाउन भनिएको छ । समितिमा अमृतादेवी अग्रहरी, गोपालबहादुर बम, प्रकाश रसाईली, लालप्रसाद साँवा लिम्बु, सुजाता परियार सदस्य छन् । एकजना सदस्य संयोजकले तोक्न पाउने व्यवस्था समेत गरेको छ । यसैबीच समितिले यसअघि बसेका बैठकमा नेपालको हवाई उडान, विमानस्थलमा रहेका समस्या समाधान, भ्रमण वर्ष २०२० को तयारी र वैदेशिक रोजगारीमा गई कुवेतमा अलपत्र परेका २१ जना कामदारहरुलाई नेपाल फर्काउन सम्बन्धित निकायहरुलाई निर्देशन दिएको समेत जानकारी गराएको छ ।

मंसिर ९, २०७६ मा प्रकाशित

175 views

प्रतिक्रिया

मुख्य समाचार