नेसनल मेडिकल कलेजमा छापा

७ वर्ष अगाडि प्रकाशित
7 years अगाडि

5 views

वीरगन्ज - वीरगन्ज–१५ भेंडियाहीस्थित नेसनल मेडिकल कलेजमा सम्पत्ति शुद्धीकरण विभागले छापा मारेको छ। मेडिकल कलेजको आय तथा सम्पत्तिसँगै त्यसका सञ्चालकको सम्पत्ति छानबिन गर्न विभागको ३ सदस्यीय टोली आइतबार सो कलेजमा छापा मार्न आइपुगेको पर्साका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले जानकारी दिएका हुन्। विभागबाट आएको टोली मेकिडल कलेजमा दिउँसो १ बजे नै छिरेको थियो। पर्सा प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरका अनुसार आइतबारै राति साढे ९ बजे टोली त्यहाँबाट निस्किएको थियो। ९ घण्टे छापामा टोलीले कलेजसँग विभिन्न कागजात झिकाएर अध्ययन गरेको थियो। विभागका अधिकृतहरूको सो टोलीले मेडिकल कलेजका प्रबन्ध निर्देशक बसरुद्दिन अन्सारीको कार्यकक्षमै कागजात र फाइल झिकाएर अनुसन्धान गरेको कलेज स्रोतले जनाएको छ। सो क्रममा मेडिकल कलेजका चार्टर्ड एकाउन्टेन्टलाई समेत विभागको टोलीले उपस्थित गराएर सोधपुछ गरेको बताइएको छ। मेडिकल कलेजहरूले विद्यार्थीबाट सरकारले तोकेभन्दा बढी रुपैयाँ विभिन्न शुल्कको नाममा असुलेको भनेर खबर आइरहेकाले विभागको टोलीले छापा मारेको हो। केही साताअगाडि नेसनल मेडिकल कलेजमा विद्यार्थीले यसविरुद्ध प्रदर्शन गरेपछि कलेज प्रसाशनले बाउन्सर लगाएर आन्दोलनरत विद्यार्थीउपर दमन गराएको आरोप लागेको थियो। विभागको टोलीले शुल्कसम्बन्धी फाइल पनि झिकाएर अनुसन्धान गरिरहेको स्रोतले जनाएको छ।

नेपाल मेडिकल कलेज एसोसिएसनको अध्यक्षसमेत रहेका नेसनल मेडिकल कलेजका प्रबन्ध निर्देशक अन्सारीसँग टोलीले उनकै कार्यकक्षमा सोधपुछ गरेको थियो। अन्सारीले भने नेपाली राजनीतिलाई आफूअनुकूल प्रयोग गर्न भ्याएका छन्। सुरुमा नेपाली कांग्रेससँग निकट भएर उनका दाजु डा. जैनुद्दिन अन्सारी र उनले तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईबाट मेडिकल कलेजको स्वीकृति लिन भ्याएका थिए।

मधेस आन्दोलनपछि मधेसवादी दलसँग उनको हिमचिम बढेको थियो। दोस्रो संविधानसभामा उनी तत्कालीन नेकपा माओवादीटिकट भई पर्सा क्षेत्र नम्बर १ बाट उम्मेदवारसमेत भए। गत स्थानीय तह निर्वाचनमा तत्कालीन नेकपा एमालेको तर्फबाट वीरगन्ज महानगरपालिकाको नगरप्रमुखको उम्मेदवार भए। अहिले उनी नेकपामा उच्च तहमा राम्रो पकड भएको व्यक्तिमा गनिन्छन्। पछिल्लो पटक प्रधानमन्त्री केपी शर्मा ओलीसम्म उनको निकटता प्रकाशमा आएको थियो। अहिले भएको छापा छानबिनका लागि हो वा अन्सारीकै योजनाअनुसार हो भन्नेमा स्थानीयले शंका गरेका छन्।

प्रतिक्रिया

COMMENTS TEST

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर

ताजा समाचार

Lekali News copyright © 2019 News. All Rights Reserved.