गढीमाई मेलामा आठ हजार राँगाको बलि

७ वर्ष अगाडि प्रकाशित
7 years अगाडि

18 views

बरियारपुर : बलिका लागि प्रसिद्ध गढीमाई मेलामा मंगलबारदेखि पशुबली सुरु भएको छ। महागढीमाई नगरपालिका-१ स्थित बरियारपुरमा मंसिर १ गतेदेखि सुरु भएको एक महिने मेलाको १७ औं दिनमा पञ्चबलि दिएर पशुबलि सुरु गरिएको हो। गढीमाई मन्दिर क्षेत्रको ब्रम्हथानमा पञ्चबलि दिएर पशुबलि सुरु गर्ने धार्मिक परम्परमा छ। मन्दिरका मुल पुजारीसहित अन्य पुजारीले पाँच घण्टा लामो पूजा गरेपछि राँगा बलि सुरु भएको हो। धार्मिक विधिअनुसार मुसा, कुखुरा, बोका, सुँगुर र राँगाको पञ्चबलि दिइएको थियो। बलिका लागि सयौंको संख्यामा मारक खटिएका थिए। मेला ब्यवस्थापन समितिका अनुसार आठ हजार भन्दा बढी राँगाको बलि चढेको छ। पञ्चवर्षीय गढीमाई मेला बलिका लागि प्रसिद्ध छ। नेपाल र भारतका लाखौं भक्तालुको उपस्थिति रहने गढीमाई मेलामा आफ्नो मनोकांक्षा पूरा भएको विश्वासमा भक्तजनले बलि चढाउने गरेका छन्। मंसिर १७ गते पञ्चबलिसहित राँगा बलि र १८ गते बोका बलि चढ्ने कार्यक्रम छ। पञ्चबलि सकिएपछि भक्तालुले बोका समेत बलि चढाएका छन्। मन्दिरका मुल पुजारी शिव चौधरीले धार्मिक विधि र पूजापछि सेतो मुसा, कुखुरा, बोका, सुंगुर र राँगाको पञ्चबलि दिएर पशुबलिको सुरु गरिएको बताए। ‘गढीमाई ठूलो शक्तिपिठ हो। यहाँ भक्तालुको निकै ठूलो आस्था रहेको छ’, चौधरीले भने, ‘भक्तालुले आफ्नो मनोकांक्षा पूरा भएपछि बढी चढाउने गरेका छन्।’ gadimai mela मेला अवधिभर एक लाख पशुपंक्षीको बलि चढ्ने अनुमान गरिएको छ। पाँच वर्ष अघिको मेलामा पाँच हजार भन्दा बढी राँगाको बलि चढेको थियो। सर्वोच्च अदालतले बलिप्रथालाई निरुत्साहित गर्न आदेश समेत दिएको थियो। यसअघि बलिका विषयमा मेला समितिले समेत खुलेर बोल्न चाहेको थिएन। मेला समितिका पदाधिकारीले सर्वोच्चको आदेश र भक्तालुको आस्थाका बीचमा आफूहरूले केही नबोल्ने बताउँदै आएका थिए। बलिका लागि मेला समितिले वधशालामा तयारी गरेको थियो। वधशालाभित्र राखिएका राँगाको हेरचाहमा मात्रै एक दर्जन व्यक्ति खटिएका थिए। चिसोका कारण रोग लागेर वधशाला भित्रका सयौं राँगा बलि अघिनै मरेका थिए। वधशाला भित्रका रांगा मर्न थालेपछि नेपाल भेटेनरी एशोसियनका अध्यक्ष डा. शितलकाजी श्रेष्ठ नेतृत्वको टोलीले राँगाको जाँच समेत गरेको थियो। मरेका राँगालाई भने गाडिएको थियो। पाँच-पाँच वर्षमा एकपटक लाग्ने गढीमाई मेलाको चार सय वर्ष भन्दा अघिको इतिहास छ। झण्डै चार सय वर्ष अघि बरियारपुरका भगवान चौधरी मकवानपुरगढीमा कैदी जिवन बिताइरहेका थिए। जेलमै रहेका बेला गढीमाई माता प्रकट भइ आफूलाई बरियारपुर लैजान आग्रह गरेपछि चौधरीले मूर्ति स्थापना गरेको कथन छ। मूर्ति स्थापना गरेपछि चौधरी मन्दिरका मुल पुजारी थिए। हाल उनको ११औं पुस्ता शिव चौधरी मन्दिरका मुल पुजारी छन्। पञ्चबलिको समयमा रौतहट सिमरीका झाक्री दुख्त चौधरीले आफ्नो शरीरको पाँच ठाउँबाट रगत चढाउने गरेका छन्। पञ्चबलिमा आफ्नो रगत चढाउने दुख्त पनि ११औं पुस्ता हुन्। यसअघि उनका अघिल्लो पुस्ताले प्रत्येक मेलामा हुने पञ्चबलिमा शरीरबाट रगत चढाउने गरेका थिए। बलिका कारण नै चर्चामा रहेको बरियारपुरमा गढीमाईको मुर्ति स्थापना भएपछि यहा भक्तालु आउने क्रम बढ्दो छ। स्थानीय ७२ वर्षीय किसुन साहले माताप्रतिको विश्वास बढ्दै गएपछि नेपाल र भारतबाट समेत भक्तालु आउन थालेको बताए। भक्तालुको संख्या बढेसँगै मेला ब्यवस्थापनको चुनौति थपिदै गएको छ। मेला अवधिभर झण्डै एक करोडले भक्तालुले मन्दिर दर्शन गर्ने र फर्किने अनुमान मेला समितिको छ। महागढीमाई नगरपालिकाले गढीमाई विकास क्षेत्र अवधारणसहित प्रस्तावना संघीय सरकरालाई बुझाइसकेको नगर प्रमुख उपेन्द्र यादव बताउँछन्। गढीमाई मेलाको सुरक्षाका लागि अहिले एक हजार भन्दा बढी नेपाल प्रहरी र सशस्त्र प्रहरी खटिएका छन्। सादा पोशाकबाट समेत प्रहरीले मेलाको निगरानी गरिरहेको छ। मेला स्थलमा सीसीटिभी जडान गरिएका छन्। बलिमा पत्रकारलाई निषेध मेला ब्यवस्थापन समितिले पञ्चबलि र राँगा बलिको दृश्य खिच्न पत्रकारलाई निषेध गरेको छ। अघिल्लो मेलामा पत्रकारलाई सहज पहुँच दिएको मेला समितिले यसपटक भने प्रतिबन्ध लगाएको हो। बलिको विरोध हुन थालेपछि मेला समितिले पशुबलिको फोटो, भिडियो बाहिर नल्याउन पत्रकारलाई रोक लगाएको हो। पञ्चबलिको दृश्य खिच्न खोजेका पत्रकारलाई मेला समितिका पदाधिकारीले लछारपछार समेत गरे। मेला समितिले फोटो र भिडियो नखिच्न आग्रह गरिरहेको थियो। राँगा बलि हुने वधशालामा पत्रकारलाई भित्र र्छिन दिइएन्। पर्खालमाथि समेत काँडे तार लगाएर बलिलाई वधशालाभित्रै सिमित राख्ने मेला समितिको प्रयास थियो। वधशाला भित्र प्रवेश नपाएपछि पत्रकारले पर्खालको प्वालबाट बलिको दृश्य कैद गर्ने प्रयास गरेका थिए। बलिप्रथा निरुत्साहित भएन पशु कल्याण संघकी अध्यक्ष स्नेहा श्रेष्ठले सर्वोच्च अदालतले बलिप्रथा निरुत्साहित गर्न आदेश दिए पनि गढीमाई मेलामा त्यसो नभएको बताइन्। धार्मिक आस्थाका नाममा पशुबलि नचढाउन आग्रह गर्दै गढीमाई मन्दिर क्षेत्रमा पशु कल्याणका लागि अभियान चलाउँदै आएकी श्रेष्ठले मेला समितिले बलि न्यूनिकरण गर्न चासो नदेखाएको आरोप लगाइन्।

प्रतिक्रिया

COMMENTS TEST

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर

ताजा समाचार

Lekali News copyright © 2019 News. All Rights Reserved.