बिहीबार लाग्ने सूर्यग्रहणले कुन कुन राशिलाई कस्तो असर पर्छ

७ वर्ष अगाडि प्रकाशित
7 years अगाडि

12 views

काठमाडौं : यही पुस १० गते बिहीबार पौष कृष्ण औँसीका दिन बिहान खण्डग्रास (आधा ढाक्ने) सूर्यग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ। ग्रहणले बिहान ८:४२ मा स्पर्श गर्ने समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिए। पश्चिम र नैऋत्य कोणको बीचबाट बिहान ग्रहण सुरु हुने, बिहान १०:०१ मा मध्य हुने र ११:३१ मा समाप्त हुने उनले बतए। पूर्व र आग्नेय कोणको बीचबाट ग्रहण समाप्त हुने समितिले जनाएको छ। ग्रहण लाग्नुभन्दा चार प्रहर (१२ घण्टा) अघि अर्थात पुस ९ गते बेलुकी ८:४२ देखि बालक, वृद्ध र रोगीबाहेकलाई शास्त्रीयरूपमा भोजन निषेध रहेको उनले सुनाए। ग्रहणका बेलामा खानपिनलगायत महत्त्वपूर्ण काम निषेध गरिएको छ। ग्रहणका समयमा स्नान, दान, श्राद्ध, जप, ध्यान, साधनालगायत कर्म गर्न भने शुभ हुन्छ भन्ने शास्त्रीय मान्यता छ। ग्रहणका समयमा दीक्षा मन्त्र लिन पनि उत्तम मानिन्छ। ग्रहणका बेला सकेसम्म तीर्थस्थलमा नसके नजिकको नदी, ताल, तलाउ, पोखरी यति पनि सम्भव नभए घरमै स्नान गर्नुपर्ने निर्णयसिन्धु, हेमाद्रि, कालमाधव, वीरमित्रोदयलगायत धार्मिक ग्रन्थमा उल्लेख गरिएको छ। ग्रहणका समयमा सुते रोग लाग्ने, पिसाब गरे दरिद्र, दिसा गरे किरा भएर जन्मने, मैथुन गरे गाउँको सुङ्गुर भएर जन्मने, सिङ्गार पटार गरे कुष्ठ रोगी, भोजन गरे अधोगति, बन्धनमा राखे सर्प भएर जन्मने, काटमार गरे नरकमा बास हुने उल्लिखित धार्मिक ग्रन्थमा वर्णन गरिएको छ। सूर्य ग्रहणमा चार प्रहर (१२ घण्टा) र चन्द्रग्रहणमा तीन प्रहर (नौ घण्टा) अघिदेखि सुतक लाग्ने धर्मशास्त्रविद्समेत रहेका गौतमले बताए। सुतक लागेपछि भोजन गर्न नहुने धार्मिक विश्वास छ। यसपालिको ग्रहण हेर्न कर्कट, तुला, कुम्भ र मीन राशि हुनेका लागि राम्रो छ। बाँकी राशिकालाई शुभ फल नदिने समितिले स्वीकृति दिएका पात्रो (पञ्चाङ्ग) मा उल्लेख गरिएको छ। मेष राशि हुनेलाई माननाश, वृषलाई कष्ट, मिथुनलाई स्त्रीपीडा, कर्कटलाई सौख्य, सिंहलाई चिन्ता, कन्यालाई व्यय, तुलालाई श्रीप्राप्ति, वृश्चिकलाई क्षति, धनुलाई घात, मकरलाई व्यय, कुम्भलाई लाभ र मीनलाई सुख प्राप्तिको फल प्राप्त हुने जनाइएको छ। शुभ फल मिल्ने राशि भएकालाई पनि सूर्यग्रहण प्रत्यक्ष आँखाले भने नहेर्न समितिले आह्वान गरेको छ। कुनै भाँडामा पानी राखेर वा सुरक्षित यन्त्रका माध्यमबाट सूर्यग्रहण हेर्न सकिन्छ। यसअघि सूर्यग्रहणका बेला सरकारले सार्वजनिक बिदा दिने गरेको थियो। यसपटक भने क्यालेन्डर (वार्षिक पात्रो) मा बिदा उल्लेख नगरिएको गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले जानकारी दिए। क्यालेण्डरमा बिदा नभएको बेलामा सरकारले निर्णय गरेर बिदा दिने गरेकामा हालसम्म सूर्यग्रहणका लागि पुस १० गते सार्वजनिक बिदा दिने निर्णय नभएको उनले बताए।

प्रतिक्रिया

COMMENTS TEST

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर

ताजा समाचार

Lekali News copyright © 2019 News. All Rights Reserved.