पशुपति क्षेत्रलाई विश्व हिन्दू आस्थाको केन्द्र बनाउने लक्ष्यसहित हुमागाईंको उम्मेदवारी

१ महिना अगाडि प्रकाशित
1 month अगाडि

53 views

काठमाडौं ।
सनातन धर्म, संस्कृति र राष्ट्रसेवाका विविध अभियानमा सक्रिय कालाग्निरुद्रपीठ लड्केश्वर धामका पीठाधीश मुकुन्द शर्मा हुमागाईंले पशुपति क्षेत्र विकास कोषको सदस्य सचिव पदका लागि उम्मेदवारी दिएका छन्। उनले श्री पशुपतिनाथ तथा पाशुपत क्षेत्रको धार्मिक गरिमा, आध्यात्मिक महत्व र सांस्कृतिक वैभवलाई थप उचाइमा पुर्‍याउने लक्ष्यसहित आफ्नो कार्ययोजना सार्वजनिक गरेका हुन्।

काभ्रेको खोपासीस्थित ऐतिहासिक श्री नरसिंह मठमा आयोजित धार्मिक अनुष्ठानका क्रममा बोल्दै हुमागाईंले पशुपति क्षेत्र केवल एउटा मन्दिर नभई सम्पूर्ण हिन्दू सभ्यता, सनातन संस्कृति र नेपाली पहिचानको केन्द्र भएको बताए। उनले पशुपतिनाथको गरिमाअनुसार यसको व्यवस्थापन, संरक्षण र विकास हुन नसकेको उल्लेख गर्दै धर्म, सेवा र सदाचारलाई केन्द्रमा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे।

उनले पशुपति क्षेत्रलाई भ्रष्टाचार र विकृतिमुक्त बनाउँदै आध्यात्मिक चेतना, धार्मिक अनुशासन र सेवाभावको केन्द्रका रूपमा विकास गर्ने लक्ष्य अघि सारेका छन्। भेटीघाटी तथा दानबाट प्राप्त रकमलाई धर्म, शिक्षा, सेवा र परोपकारका क्षेत्रमा खर्च गरिने उनको भनाइ छ।

हुमागाईंले पशुपतिनाथको नित्य पूजा, आराधना र अभिषेकलाई थप व्यवस्थित र शास्त्रसम्मत बनाउने योजना पनि सार्वजनिक गरेका छन्। वाग्मतीको उद्गमस्थलबाट शुद्ध जल ल्याई अभिषेक गर्ने, पञ्चामृतको गुणस्तर सुनिश्चित गर्ने तथा भक्तजनलाई सहज र मर्यादित दर्शनको व्यवस्था मिलाउने उनको योजना छ।

उनले पाशुपत क्षेत्रभित्र रहेका प्राचीन मठ, मन्दिर, शिवालय तथा धार्मिक सम्पदाको संरक्षणलाई विशेष प्राथमिकतामा राखेका छन्। जीर्ण अवस्थामा रहेका धार्मिक संरचनाको पुनर्निर्माण गरी पुरानै स्वरूपमा फर्काउने तथा वर्षौंदेखि बन्द रहेका धर्मशाला र सत्तललाई पुनः सञ्चालनमा ल्याउने प्रतिबद्धता व्यक्त गरेका छन्।

धार्मिक पर्यटन प्रवर्द्धनका लागि विश्वभर रहेका हिन्दू समुदायलाई पशुपतिनाथसँग जोड्ने अभियान सञ्चालन गर्ने, विदेशमा रहेका नेपाली तथा हिन्दू धर्मावलम्बीका लागि अनलाइन पूजा तथा डिजिटल सेवा विस्तार गर्ने योजना पनि उनले अघि सारेका छन्।

त्यस्तै, पशुपति क्षेत्रको संरक्षणसँगै सनातन शिक्षा र संस्कृतिको विकासका लागि वेद विद्याश्रम विस्तार, हिन्दू विश्वविद्यालय स्थापना तथा आयुर्वेद चिकित्सालय सञ्चालन गर्ने अवधारणा समेत सार्वजनिक गरेका छन्। क्षेत्रभित्र रहेका गाई, नन्दी, बाँदर र अन्य जीवजन्तुको संरक्षणलाई पनि धार्मिक कर्तव्यका रूपमा अगाडि बढाइने उनले बताएका छन्।

‘सदाचार, सेवा र सनातन संस्कृतिको संरक्षण–समृद्ध पशुपति, गौरवशाली नेपाल’ नारालाई आत्मसात् गर्दै हुमागाईंले पशुपति क्षेत्रलाई विश्व हिन्दू समाजको आस्थाको केन्द्र, आध्यात्मिक शक्तिको स्रोत र नेपालको गौरवका रूपमा स्थापित गर्ने लक्ष्य रहेको बताएका छन्।

प्रतिक्रिया

COMMENTS TEST

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर

ताजा समाचार

Lekali News copyright © 2019 News. All Rights Reserved.