वर्षौ पुरानो रुख गमलामै अटाएको कतै देख्नुभएको छ? देख्दा वा सुन्दा अचम्म लाग्न सक्छ तर यो सत्य हो। त्यो रुख बोनसाई गरिएको हुन सक्छ।
के हो बोनसाई?
बोनसाई धेरै समयदेखि चली आएको एउटा जापानी कला हो। बोनसाई जापानी भाषाका दुई शब्दहरू बोन र साई मिलेर बनेको शब्द हो, जसमा ‘बोन’ को अर्थ सानो र ‘साई’ को अर्थ बिरुवा भन्ने हुन्छ। यसलाई सजिलो भाषामा अग्ला रुखहरूलाई सानो र आकर्षक रूपमा ढाल्ने कला पनि भन्न सकिन्छ।
बोनसाई गरिएका रुखहरूलाई साना गमलाहरूमा मज्जाले रोप्न सकिन्छ। यी रुखहरूलाई घरको वा अफिसको छत, कोठा, भर्याङ देखि लिएर जुनसुकै ठाउँमा पनि सजाएर हरियालीको आनन्द लिन सकिन्छ। अक्सिजन दिने र धुँवा धुलोबाट पनि बचाउने भएकाले यो सजावटका लागि मात्र नभएर स्वास्थ्यका लागि पनि उत्तिकै फाइदाजनक छ।
कसरी बनाउने बोनसाई?रुखको छनोट
सबैभन्दा पहिला बोनसाईको लागि उपयुक्त रुखको छनौट गर्नुपर्छ। यसका लागि अनार, आँप, अम्बा, अमला, सुन्तला, पिपल, लिची, निम, कागती, नस्पाती, चमेली आदि लगायतका रुखहरू मध्ये कुनै एक छान्न सकिन्छ।
यस पछि बिरुवाको आकृतिको गहिरो अध्ययन गर्नुपर्छ। आकृतिको राम्रो अध्ययन गर्नाले आकारमा साना बोनसाई गरिएका बिरुवालाई हेर्दा जङ्गलमा भेटिने वर्षौँ पुराना ठुला रुखहरू जस्ता देखिने बनाउन मद्दत पुग्छ।
रोप्ने तरिका
यसलाई बीउ, हाँगा कटाई र लेयरिंगबाट रोप्न सकिन्छ। बीउबाट सुरु गर्ने हो भने बोनसाई बनाउनका लागि धेरै समय लाग्छ तर कटिंगमार्फत यसको बिरुवामार्फत रोप्ने हो भने छिटै बनाउन सकिन्छ।
बिरुवा पाउने स्थान
नर्सरी अथवा बोनसाई खेती गरिरहेका व्यक्तिहरूबाट यसको बिरुवा पाउन सकिन्छ।
काँट-छाँट
बोनसाई बनाउँदा मूल रुखलाई जङ्गलमा हेर्दा जस्तो देखिन्छ, सानो गमलामा पनि त्यस्तै देखिने गरी बिरुवाको बाहिरी भागलाई काँट-छाँट गर्नु पर्छ। काट्दा बिरुवालाई सकेसम्म फराकिलो देखिने गरी काट्नु पर्छ र हेर्ने मानिसको अघिल्लो भागमा सकेसम्म कुनै पनि हाँगाहरू फर्किएको हुनु हुँदैन।
त्यसपछि सावधानीसँग बिरुवालाई पानीले भरिएको बाल्टीभित्र राखेर माटो हटाउनुपर्छ। माटो हटाएपछि कैँचीको प्रयोग गरेर जराको पनि काँट-छाँट गर्नुपर्छ। यसरी जरा काट्दा गमलामा बिरुवा अट्ने गरी काट्नुपर्छ।
गमलाको व्यवस्थापन
बोन्साईका लागि गमला किन्दा निकै दह्रो र सुन्दर गमला किन्नु पर्छ र यो धेरै गहिरो पनि हुनु हुँदैन। गमलामा साना साना प्वालहरू हुनुपर्छ। त्यी प्वालहरूबाट बिरुवामा बढी भएको पानी बाहिरिन मद्दत पुग्छ भने जराले पनि हावा पाउन सजिलो हुन्छ। यी प्वालहरू मैनको पातलो तह बनाइ टाल्नुपर्छ। त्यसपछि त्यस तहमाथि माटो राम्रोसँग फैलाउनुपर्छ। माटो पौष्टिक र दह्रो हुनुपर्छ जसले गर्दा बोनसाई माटोमा राम्ररी जम्न सक्छ। माटोको तह जब २ देखि ३ इन्च मोटो भएपछि तयार गरिएको बिरुवालाई गमलामा राखेर जराको वरिपरि माटो फैलाएर बिस्तारै थिच्नुपर्छ।
आकार दिने तरिका
बिरुवा गमलामा जमेपछि आकार दिनका लागि तामा वा अलुमिनियमको तारले पातलो हाँगालाई बाँध्नुपर्छ। हाँगालाई तल झुकाउनका लागि हाँगामा भारी सामान बाँध्न पनि सकिन्छ।
सिँचाइ बोनसाईको प्रजाति अनुसार नियमित रूपमा गरिराख्नुपर्छ र प्रजाति अनुसार नै मलको पनि व्यवस्था मिलाउनुपर्छ। बोनसाईलाई पर्याप्त घाम भएको ठाउँमा राख्नुपर्छ।
केही वर्षपछि माटोको पौष्टिकता कम हुने भएकाले गमलाको माटो बदल्नुपर्छ। यही मौकाको फाइदा उठाउँदै अनावश्यक रूपमा फैलिएका जराहरू काट्न सकिन्छ।
बोन्साईको व्यावसायिक सम्भावना कस्तो छ?
आजकाल नेपाली बजारमा बोनसईको माग बढ्दो छ। विशेष गरेर सहरका धेरैजसो धनाढ्य परिवारहरूले यस बिरुवालाई घरमै सजाउनका निम्ति खरिद गर्दै आएका छन्। बोनसाईको बिरुवालाई घरमा राख्दा समाजमा आफ्नो प्रेस्टीज बढेको महसुस गरिने गरेको पनि भेटिन्छ।
बोनसाईको व्यावसायिक उत्पादन गर्ने नर्सरी फर्महरूका अनुसार एउटै बिरुवा ३५ हजार देखि एक लाखसम्ममा बिक्री हुँदै आएको छ। विदेशमा यसको मूल्य १८ करोडसम्म तिर्नेहरू पनि भेटिन्छन्।
भन्छन् नि मेहेनतको फल मिठो हुन्छ। अहिले दिलोज्यान लगाएर बनाउन सुरु गरेका रुखहरुले निकै वर्षपछि, गरेको मेहेनत अनुसार प्रशस्तै मात्रामा फाइदा पनि दिन्छन्। बोनसाई गरिएका बिरुवा जति पुरानो भयो उत्तिनै महँगो हुने भएकाले जति समय खर्चियो उत्ति आम्दानी बढ्ने। बोनसाई तपाइको बुढेसकालको लागि पेनशन बन्न सक्छ।
उध्यमिनेपाल डट कम बाट