बीबीसी हिन्दी रेडियोको यात्रामा पूर्ण विराम


१९ माघ, काठमाडौं । ८० वर्षदेखि निरन्तर प्रसारण हुँदै आएको बीबीसी हिन्दी रेडियो ३१ जनवरीदेखि बन्द भएको छ । बीबीसी हिन्दी रेडियो सेवाले आफ्नो अन्तिम प्रसारण शुक्रबार साँझ साढे ७ बजे भयो । बीबीसी हिन्दी सेवाको ‘दिनभर’, ‘नमस्कार भारत’ लगायतका कार्यक्रम निकै लोकप्रिय थिए । बीबीसी रेडियोको विश्व सेवा, हिन्दी सेवा र उर्दू सेवाको आफ्नो स्वर्णिम इतिहास छ । नेपालमा बीबीसी नेपाली सेवा पनि प्रसारण हुँदै आएको छ । बीबीसीले आर्थिक संकटका कारण पटक पटक कर्मचारीहरु कटौती गर्दै आएको छ । बीबीसी हिन्दी रेडियोको सेवा बन्द हुनुलाई पनि त्यही कारण मानिएको छ । तर स्रोताको संख्या घट्दै गएको भन्दै विश्व हिन्दीको सर्टवेभ रेडियो प्रसारण बन्द गरिएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । अन्तिम बुलेटिन प्रसारण गर्नुअघि बीबीसी हिन्दी रेडियोका प्रमुख प्रस्तोता राजेश जोशीले ८० वर्षे इतिहास बोकेको रेडियो सेवा बन्द हुँदा आफू भावुक बनेको बताए । अन्तिम कार्यक्रम प्रसारण सकेपछि जोशीले स्टुडियोको माइक ढोगेका थिए । यो दृश्यले धेरैलाई भावुक बनाएको छ । बीबीसी हिन्दी रेडियोले अन्तिम प्रसारण फेसबुकमार्फत् भिडियो लाइभ गरेको थियो । कार्यक्रम समाप्त भइसकेपछि गरिएको कुराकानीका क्रममा रेडियोका कर्मचारीहरुको गला अवरुद्ध भएको थियो । १८ वर्ष बीबीसी हिन्दी रेडियोमा बिताएका जोशीले प्रसारणको दौरान स्रोताबाट पाएको माया नै आफूहरुको पुँजी भएको बताए । बीबीसी हिन्दी रेडियोको पहिलो प्रसारण ११ मे १९४० मा भएको थियो । दोस्रो विश्वयुद्धमा लड्ने भारतीय सैनिकको हालचाल उनीहरुका परिवारसम्म पुर्‍याउने उद्देश्य रेडियोको थियो । त्यतिबेला १० मिनेटको समाचार बुलेटिन प्रसारण हुन्थ्यो । सन् १९४१ बाट भने कार्यक्रमको अवधि आधा घण्टा बनाइयो । ‘बीबीसी हिन्दुस्तानी’को नामबाट सुरु भएको यस रेडियोको पहिलो सञ्चालक जुल्फिकर अली बुखारी हुन् । उनले १९४५ सम्म काम गरे । १९४७ भारत बिभाजन भएर पाकिस्तान अलग देश बनेपछि बुखारी पाकिस्तान रेडियोको पहिलो महानिर्देशक नियुक्त भएका थिए । सर्टवेभ प्रसारण बन्द भए पनि बीबीसी डिजिटल माध्यमबाट विवेचना र दुनियाँ कार्यक्रम नियमित प्रसारण हुने समाचार एजेन्सीले जनाएका छन् ।

माघ १९, २०७६ मा प्रकाशित

132 views

प्रतिक्रिया

मुख्य समाचार