सालकबाट कोरोना भाइरस सरेको आशंका


१४ चैत, काठमाडौं । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) सालकबाट मानिसमा सरेको आशंका गरिएको छ। वैज्ञानिकहरुले गरेको अनुसन्धानमा तस्करी गरिएका सालकमा अहिले विश्वभर महामारी फैलिएको भाइरस जस्तै फेला परेपछि यो तथ्य बाहिर आएको हो । वैज्ञानिकहरुले भविष्यमा आउनसक्ने यस किसिमको महामारीबाट बच्न जंगली जनावरको बजारमा कडाइका साथ रोक लगाउनुपर्ने बताएका छन् । सालक सबैभन्दा धेरै अवैधरुपमा तस्करी हुने स्तनपायी जनावर हो । यसको प्रयोग खाना र परम्परागत उपचारको लागि पनि गरिन्छ । जर्नल नेचरमा प्रकाशित शोधको अनुसार यी जनावरलाई चलाउँदा निकै सतर्कता अपनाउनु पर्छ । भविष्यमा पनि यस्ता भाइरस मानिसमा सार्न उनीहरुको भूमिकबारे थाहा पाउन निरन्तर निगरानी राख्नु पर्ने शोधकर्ताहरुले बताएका छन् । यो अनुसन्धानको नेतृत्व गरेका हङकङ यूनिभर्सिटीका डा. टोमी लामले महामारीसँग सम्बन्धित कोरोना भाइरसको दुई समूह मलेसियाबाट तस्करी गरेर ल्याइएका सालकमा पहिचान गरिएको बताए । तर, अहिलेसम्म कोरोना भाइरस (कोभिड–१९) को महामारी फैलाउन सालकले खेलेको भूमिका भने स्पष्ट हुन सकेको छैन । लामका अनुसार आगामी दिनमा पनि जनावरबाट मानिसमा सर्न सक्ने कुनै पनि संक्रामक रोगबाट बच्न यस्ता जंगली जनावरको बिक्रीमा रोक लगाउनुपर्ने उनको भनाइ छ । अहिले पनि यो भाइरस कसरी जंगली जनावर सम्भवतः चमेराबाट अन्य जनावर र त्यसपछि मानिसमा सर्‍यो भन्ने कुरा रहस्यमै छ । यो भाइरससँग चमेरा र सालक दुवै संलग्न रहेको पत्ता लागेको छ । तर, अझै पनि यसको वास्तविक अनुक्रम के हो भन्ने खुल्न सकेको छैन । मलेसियाबाट आएका सालकमा यो भाइरस पत्ता लाग्नुले यिनीहरुले भाइरसलाई कहाँ राखेका थिए भने प्रश्न उठेको लाम बताउँछन् । यो भाइरस चीन वा दक्षिण पूर्वी एसियाबाट आएकोमा अझै अन्योलता देखिएको छ ।

चैत्र १४, २०७६ मा प्रकाशित

130 views

प्रतिक्रिया

मुख्य समाचार