मर्मत गर्न नसक्दा भेन्टिलेटर गोदाममा थन्किए   


जानकी, ५ साउन 
मर्मत गर्न नसक्दा बाँकेको नेपालगन्जस्थित भेरी अस्पतालमा १२ भेन्टिलेटर गादाममा थन्किएका छन् । कोभिड–१९ को समयमा सरकार र विभिन्न दाताले ती भेन्टिलेटर सहयोग गरेका हुन् ।    
    
 भेन्टिलेटर बिग्रिएपछि गोदाममा थन्क्याइएको भेरी अस्पतालका चिकित्सक डा पारस पाण्डेले बताउनुभयो । “भेन्टिलेटर अभावमा कोभिड–१९ का बिरामीको उपचारमा समस्या भएपछि विभिन्न दाताले पाँचवटा उपलब्ध गराएका थिए । मर्मत गर्न नसक्दा गोदाममा थन्किएका छन् ।” सरकारले खरिद गरेका २० मध्ये सातवटा भेन्टिलेटर पनि बिग्रिएको उहाँले बताउनुभयो ।    
    
 अस्पतालसित बाँकी रहेका १३ भेन्टिलेटरमा पनि ब्याट्रीको समस्या देखिएको डा पाण्डेले बताउनुभयो । “मर्मतका लागि रकमको खाँचो छ, उपलब्ध हुनासाथ मर्मत गर्छौँ”, उहाँले भन्नुभयो । छिनछिनमा बत्ती आउने जाने हुँदा भेन्टिलेटर बिग्रएका हुन् ।    
    
 भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा बद्री चापागाईँले दैनिक छवटा भेन्टिलेटर सञ्चालनमा ल्याएको बताउनुभयो । जनशक्ति र शय्या अभावले बिरामीलाई सेवा दिन नसकिएको उहाँको भनाइ छ । “प्रत्येक दिन ९० प्रतिशत शय्या भरिभराउ हुन्छन् । नयाँ बिरामीले शय्या पाउन कि पुराना निको हुनुपर्यो, कि सिफारिस भएर अन्यत्र जानुपर्ने हुन्छ ।”    
    
 डा चापागाईँले सघन रोगका बिरामीलाई मात्र आइसीयूमा राखेर उपचार गरिने जानकारी दिनुभयो । आइसीयूमा उचाररत बिरामीलाई स्वास फेर्न गाह्रो भएपछि भेन्टिलेटरको आवश्यकता पर्छ । भेरी अस्पतालको आइसीयूमा १५ वटा मात्र बेड छन् ।    
–––  

साउन ५, २०८० मा प्रकाशित

128 views

प्रतिक्रिया

मुख्य समाचार