मिर्चैया नगरपालिकाद्वारा किसानलाई एक सय बाख्रा वितरण l


लहान, २० साउन 
सिरहाको मिर्चैया नगरपालिकाले उन्नत जातका एक सय बाख्रा वितरण गरेको छ । नगरपालिकालाई मासु उत्पादनमा आत्मनिर्भर बनाउने उद्देश्यले किसानलाई बाख्रा वितरण गरेको हो ।    
    
 नगरपालिकाले तीन समूहका ५० किसानलाई दुई वटाका दरले समूहको १० प्रतिशत र नगरपालिकाको ९० प्रतिशत लगानीमा एक सय बाख्रा नगरप्रमुख श्रवणकुमार यादवले हस्तान्तरण गर्नुभएको हो । उहाँले भन्नुभयो, “आर्थिक अवस्था कमजोर भएका दलित, गरिब, असहाय परिवारको आर्थिक अवस्था सुधार्दै स्वरोजगार बनाउन र मासु उत्पादनमा आत्मनिर्भर बनाउनका लागि नगरपालिकाले यो नीति अघि सारेको हो ।”    
    
 नगरपालिकाबाट दुईवटा उन्नत जातका बाख्रा पाउँदा खुसी लागेको मिर्चैया नगरपालिका–५ बस्ने चन्द्रकलादेवी महराले बताउनुभयो । “नगरपालिकाले कुनै सेवासुविधा प्रवाह गर्दा हामीलाई केही जानकारी दिँदैन, छ वर्षमा यसपालि एकै पटक दुईवटा बाख्रा पाए निकै खुसी छु”, महराले भन्नुभयो, “घरको आर्थिक अवस्था यसले सुधार हुन्छ भन्ने विश्वास लिएको छु । यसलाई दुईबाट चार बनाएर उचित मोलमा बिक्री गर्ने योजना छ ।”    
    
 गौरी महिला बाख्रापालन समूह मिर्चैया नगरपालिका–५ का १५, जितमहान बाख्रापालन समूह वडा नं ६ का १० र प्रगतिशील बाख्रापालन समूह वडा नं ३ का २५ किसानलाई जमुनापारि, खरी, बोयरक्रस जातको उन्नत बाख्रा वितरण गरिएको नगरपालिका पशुसेवा शाखाप्रमुख नागेश्वर हाथीले जानकारी दिनुभयो । उहाँका अनुसार आव २०७९/८० मा नयाँ बाख्रा पकेट क्षेत्र विकास कार्यक्रमअन्तर्गत रहेको १० लाख विनियोजित रकमले बाख्रा हस्तान्तरण गरिएको हो ।    
–––  

साउन २०, २०८० मा प्रकाशित

111 views

प्रतिक्रिया

मुख्य समाचार