डुबेर बेपत्ता भएका किशोर मृतावस्थामा फेला   


राँझा, २७ साउन : बाँकेको खजुरा गाउँपालिका-७ स्थित जेठी नालामा डुबेर बेपत्ता भएका एक किशोर तीन दिनपछि मृतावस्थामा फेला परेका छन् ।    
    
जेठी नालामा पौडी खेल्न गएका खजुरा गाउँपालिका-६ सिमलघारी निवासी १५ वर्षीय विकास सुनार बुधबार अपराह्न ४ बजेतिर बेपत्ता भएका थिए । बेपत्ता भएको स्थानबाट करिब दुई सय मिटर तल रहेको पिविसी इँटाभट्टा नजिक नालामा गए राति सुनारको शव फेला परेको इलाका प्रहरी कार्यालय धनौलीका प्रहरी निरीक्षक सन्दीप बेल्वासेले जानकारी दिनुभयो ।    
    
बेपत्ता सुनारको शव धनौली इलाका प्रहरी कार्यालयबाट खटिएको सुरक्षाकर्मीको टोलीसहित रहेका स्थानीय गोपाल तामाङले नालाबाट निकाल्नुभएको थियो । सुनारको शव शुक्रबारनै भेरी अस्पताल नेपालगञ्जमा परीक्षणका लागि ल्याइएको इलाका प्रहरी कार्यालय धनौलीका प्रहरी निरीक्षक बेल्बासेले बताउनुभयो ।    
    
जनकल्याण माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत सुनार खोलामा बाढी आएको समयमा पौडी खेल्दा बेपत्ता भएको विद्यालयको व्यवस्थापन समिति अध्यक्ष दलकृष्ण सुनारले जानकारी दिनुभयो ।    
    
लगातारको बर्सातले बाँकेको खजुरा गाउँपालिका क्षेत्रमा बग्ने जेठी नाला, किरण नाला र पेडारी नालामा बाढी आएको छ । बर्सातमा बाढी आउने खोला नाला, पोखरी, पानी जमेको ठाँउमा दुर्घटना हुनसक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको खजुरा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन सुवेदीले जानकारी दिनुभयो ।    
---  

साउन २७, २०८० मा प्रकाशित

131 views

प्रतिक्रिया

मुख्य समाचार