संसद्ले कानूनले प्रतिबन्ध लगाएकाबाहेक सबै सूचना उपलब्ध गराउँछ : सभामुख घिमिरे   


धुलिखेल, १ भदौ : सभामुख देवराज घिमिरेले कानूनले प्रतिबन्ध लगाएकोबाहेक सबै सूचना उपलब्ध गराउन संसद् प्रतिबद्ध रहेको बताउनुभएको छ । सङ्घीय संसद्द्वारा आज आयोजित ‘संसद्–सञ्चार सम्बन्ध’ विषयक अन्तर्क्रियामामा उहाँले सूचनाको हक कति प्राप्त गर्ने भन्ने सीमालाई बुझ्न भने जरुरी रहेको धारणा राख्नुभयो । सभामुख घिमिरेले भन्नुभयो, “संसद् सकेसम्म धेरै सूचना दिन प्रतिबद्ध छ । सञ्चारको माध्यमबाट संसद्लाई कसरी प्रभावकारी बनाउन लैजान सकिन्छ भन्नेमा प्रयत्न भइरहेको छ ।”    
    
 सूचना लिने र दिने मात्र विषय नभई लोकतन्त्र र जनसरोकारको विषय भएको बताउँदै उहाँले कतिपय अवस्थामा परिस्थितिमा वस्तुगत परिस्थिति निर्धारण गर्ने बताउनुभयो । संसद्लाई सबै खाले समस्या समाधान गर्ने थलो बनाउन आवश्यक रहेको बताउँदै उहाँले सत्तापक्ष र प्रतिपक्षलाई आआफ्नो अडानमा लचकता देखाई संसद् सञ्चालन गर्ने वातावरण बनाउन गम्भीर हुन सुझाव दिनुभयो ।    
    
 उपसभामुख इन्दिरा रानाले पत्रकारिता पेशाको मर्यादा र ओजलाई बुझेर मात्र काम गर्न सुझाव दिनुभयो । उहाँले भन्नुभयो, “पत्रकारिता चुनौतीपूर्ण पेशा भएकाले राज्यले नै सेवा, सुविधा र सूचना उपलब्ध गराउनुपर्छ, पार्टीको भरिया बनाउनुहुन्न ।”    
    
 महासचिव डा भरतराज गौतमले संसद् सचिवालयले सेवा प्रवाह र पत्रकारको भोगाइबीच तादात्म्यता मिलाउन आफूहरू प्रयत्नशील रहेको बताउनुभयो ।    
    
 सचिवालयका सचिव डा रोजनाथ पाण्डेले कार्यपत्र प्रस्तुत गर्दै समाचार सम्प्रेषणका लागि कागजात र समाचारको पहुँच सुनिश्चित गराउन सचिवालय र संसदीय दलको भूमिका महत्त्वपूर्ण हुने बताउनुभयो । सचिवालयका प्रवक्ता एकराम गिरीले संसद् र संसदीय समितिमा पत्रकारको पहुँचको स्थिति दक्षिण एसियामै नेपालमा सहज र नियमित रहेको बताउनुभयो ।    
    
 संसदीय मामिला पत्रकार समाजका अध्यक्ष मनोज सत्यालले ‘संसदीय पत्रकारिता अभ्यास र अपेक्षा’ विषयमा कार्यपत्र प्रस्तुत गर्दै मिडिया सेन्टरलाई व्यवस्थित र लबी रिर्पोटिङको व्यवस्थामा सचिवालयको विशेष ध्यानाकर्षण गराउनुभयो । काठमाडौँ उपत्यकामा रहेका राष्ट्रिय सञ्चार माध्यममा रही संसदीय समाचार सङ्कलन र सम्प्रेषणमा कार्यरत ५० जना पत्रकारको अन्तर्क्रियामामा सहभागिता रहेको छ ।    
–––  

भदौ १, २०८० मा प्रकाशित

126 views

प्रतिक्रिया

मुख्य समाचार