अबका योजना उत्पादनमुखी हुनुपर्छ : मुख्यमन्त्री पाण्डे   


गण्डकी, १ भदौ : गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अबका योजना वितरणमुखी नभई उत्पादनमुखी हुनुपर्नेमा जोड दिनुभएको छ । गण्डकी प्रदेश नीति तथा योजना आयोगद्वारा आज पोखरामा आयोजित गण्डकी प्रदेशको दोस्रो पञ्चवर्षीय योजनाको अवधारणापत्र तयारीसम्बन्धी अन्तरक्रियामा उहाँले वितरणमुखी योजनाले परिणाम दिन नसक्ने भएकाले उत्पादनमुखी योजनामा नै केन्द्रित हुनुपर्ने बताउनुभयो ।    
    
 सरकारले सडक, खानेपानी र सिँचाइमा विशेष जोड दिएको बताउँदै उहाँले यस आर्थिक वर्षमा भवन, गाडी खरिदजस्ता कुरालाई प्राथमिकता नदिइएको बताउनुभयो । प्रदेशको समग्र विकासमा सबैको साझा प्रयास हुनुपर्ने र सङ्घीयतालाई प्रभावकारी बनाउन पनि सामूहिक प्रयास जरुरी रहेको उहाँले बताउनुभयो ।    
    
 राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठले बनाइएका योजनाको कार्यान्वयनको अवस्था सन्तोषजनक नभएको बताउँदै आगामी दिनमा बन्ने योजना वस्तुगत र परिणममुखी हुनुपर्ने आवश्यकता औँल्याउनुभयो ।    
    
 गण्डकी प्रदेश नीति तथा योजना आयोगका उपाध्य डा कृष्णचन्द्र देवकोटाले गण्डकी प्रदेशको दोस्रो पञ्चवर्षीय योजनाको अवधारणापत्रको मस्यौदा तयार भइसकेको बताउँदै विभिन्न सरोकारवालाबीच गहन छलफल गरी आगामी फागुन चैतसम्ममा दोस्रो पञ्चवर्षीय योजना ल्याउने जानकारी दिनुभयो । आत्मनिर्भर तथा समुन्नत प्रदेश, सम्मानित प्रदेशवासीको उद्देश्यसहित योजना तयार गर्न लागिएको बताउँदै उहाँले उत्पादनमुखी अर्थतन्त्रलाई जोड दिइने दाबी गर्नुभयो ।    
    
 राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा विश्वनाथ पौडेलले कृषिको कमजोर उत्पादकत्व वृद्धिदरले गरिब गरिब नै रहेको बताउनुभयो । विभिन्न मन्त्रालयमा कृषिका कार्यक्रम बाँडिए पनि समन्वय हुन नसकेको उहाँले बताउनुभयो । राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा जगदीशचन्द्र पोखरेलले सङ्घीयताको मर्मतअनुसार तीव्र विकास, समान क्षेत्रीय विकासका साथै विविधतालाई सम्बोधन गर्नुपर्ने भए पनि अपेक्षितरुपमा हुन नसकेको उल्लेख गर्नुभयो ।    
    
 पूर्वमुख्यसचिव डा सोमलाल सुवेदीले संविधानको गतिअनुसार राजनीतिक संस्कार हुनुपर्नेमा जोड दिनुभयो । कानुनसँगै त्यसको कार्यान्वयन हुनुपर्नेमा जोड दिँदै उहाँले प्रशासनिक सङ्घीयतालाई ध्यान नदिइएको टिप्पणी गर्नुभयो । अनुदान समानीकरण हुन नसकेको बताउँदै उहाँले स्रोत र आयोजनाको तालमेल हुन नसकेको तर्क गर्नुभयो । नीति तथा योजना आयोग गण्डकीका पूर्वउपाध्यक्ष डा रघुराज काफ्ले आत्मनिर्भर हुने भनिएका वस्तुको उत्पादनमै ह्रास आउने गरेको बताउनुभयो । अर्थतन्त्रको संरचनागत रुपान्तरणमा विशेष जोड दिनुपर्ने उहाँको भनाइ छ ।    
–––  

भदौ १, २०८० मा प्रकाशित

121 views

प्रतिक्रिया

मुख्य समाचार