महाकाली पुल सुदूरपश्चिम समृद्धिको मेरुदण्ड : मन्त्री ज्वाला 


दोधारा चाँदनी (कञ्चनपुर), २ भदौ : भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले महाकाली नदीमा निर्माणाधीन चार लेनको पक्की पुल सुदूरपश्चिम प्रदेशको समृद्धिको मेरुदण्डका रुपमा रहेको बताउनुभएको छ । महाकाली पुलको आज यहाँ स्थलगत निरीक्षण गर्दै मन्त्री ज्वालाले पुल निर्माणपछि मुलुकको आर्थिक विकासमा ठूलो टेवा पुग्ने बताउनुभयो । “पुलसँगै दोधारा चाँदनीमा सुख्खा बन्दरगाह बन्ने कुरा अगाडि बढिसकेको छ”, उहाँले भन्नुभयो, “यसलाई देशकै प्रमुख नाकाका रुपमा सञ्चालन गर्छौं ।”    
    
मन्त्री ज्वालाले महाकाली पुल बहुउपयोगी र शारदा व्यारेजको विकल्पका रुपमा रहेकोे बताउनुभयो । “यसले नेपाल–भारतलाई जोड्नुका साथै पर्यटकीय हिसाबले पनि महत्वपूर्ण छ”, उहाँले भन्नुभयो, “पुलले महाकाली पारीको गाउँलाई पनि देशको मूलधारसँग जोड्ने छ ।” पुल निर्माणका लागि कुनै पनि समस्या हुन नदिने मन्त्री ज्वालाले प्रतिबद्धता जनाउनुभयो । पुल निर्माणको काम बजेट अभावले नरोकिने उहाँको भनाइ थियो ।    
    
निर्माण कम्पनी कुमार श्रेष्ठ सिएफइसी जेभीका इन्जिनियर किशोरराज पाण्डेयले बजेट अभावले निर्माणको काम प्रभावित नहुने बताउनुभयो । “पुलको ९० प्रतिशत काम सम्पन्न भइसकेको छ”, उहाँले भन्नुभयो, “पुलसँगै बन्ने पहुँचमार्ग र पुलको दुवैतर्फ पोखरी निर्माणाधीन छन् ।” चार लेनको उक्त पक्की पुललाई दोधारा चाँदनीमा निर्माण हुन लागेको सुक्खा बन्दरगाहको पूर्वाधारका रूपमा हेरिएको इन्जिनियर पाण्डेयले बताउनुभयो ।    
    
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणका बेला सुक्खा बन्दरगाहको काम तीन वर्षभित्र सक्ने सम्झौता भएको छ । भारतले निर्माण गर्ने सुक्खा बन्दरगाहको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) निर्माण अन्तिम चरणमा छ । सुक्खा बन्दरगाह निर्माणपछि दोधारा चाँदनीसँगै सुदूरपश्चिमकै समग्र आर्थिक विकासमा टेवा पुग्ने अपेक्षा गरिएको छ । 

भदौ २, २०८० मा प्रकाशित

127 views

प्रतिक्रिया

मुख्य समाचार