बाढीमा २३ भारतीय सैनिक बेपत्ता


गुवाहाटी, भारत, १७ असोज (रासस/एएफपी) :  - उत्तरपूर्वी सिक्किम प्रान्तमा भीषण वर्षाका कारण आएको शक्तिशाली बाढीमा २३ सैनिक बेपत्ता भएको भारतीय सेनाले बताएको छ ।    
    
 “उत्तर सिक्किमको ल्होनाक तालमा अप्रत्याशितरूपमा बादल फाट्दा टिस्टा नदीमा बाढी आयो, २३ सैनिक बेपत्ता भएको र केही सवारी साधन डुबेको खबर छ”, सेनाले भनेको छ, “खोजी कार्य जारी छ ।”    
    
 उक्त दुर्गम क्षेत्र नेपालसँग भारतको सीमा नजिक पर्छ । साथै ल्होनाक ताल विश्वको तेस्रो सबैभन्दा अग्लो हिमाल कञ्चनजङ्घालाई घेरेको हिउँको चुचुरोमा रहेको हिमनदीको फेदमा अवस्थित छ ।    
    
 चुङथाङ्ग बाँधभन्दा माथि पानी छोडिएका कारण सामान्य अवस्थाभन्दा पानीको सतह पहिला नै १५ फिट माथि रहेको सेनाले बताएको छ ।    
    
 भारतीय सेनाका प्रवक्ताले जारी गरेको एउटा भिडियोमा जङ्गली क्षेत्रमा पानीको तीव्र धारले सडकहरू बगाएको र बिजुलीका तारहरू चुँडाएको देखाइएको छ ।    
    
 सामान्यतया भारतमा जुनदेखि सुरु भएर सेप्टेम्बरमा सकिने मनसुनको समयमा अचानक बाढी आउनु सामान्य हो । अक्टोबरसम्ममा मनसुनी वर्षा सामान्यतया सकिसकेको हुन्छ ।    
–––    
    
  

अशोज १७, २०८० मा प्रकाशित

140 views

प्रतिक्रिया

मुख्य समाचार