
काठमाडौं । सरकारले जग्गाको नापजाँच भएको तर दर्ता नभएको छुट जग्गा दर्ता खुला गरेको छ ।
विगत दुई/तीन पुस्तादेखि भोगचलन गर्दै आएको तर विभिन्न कारणले दर्ता नभएको छुट जग्गा दर्ता गर्न खुला गरेको सूचना भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले राजपत्रमा प्रकाशित गरेको छ । छुट जग्गा दर्ताको लागि निवेदन दिन २ वर्षको समय दिइएको छ ।
‘नेपाल सरकारले मालपोत नियमावली, २०३६ को नियम ४ ९क० को उपनियम ९१० को प्रयोजनको लागि जग्गा (नाप जाँच) ऐन, २०१९ बमोजिम नाप नक्सा भएको तर दर्ता गर्नसम्म छुट भएका जग्गा दर्ता गर्न चाहने सम्बन्धित जग्गावालाले सम्बन्धित मालपोत कार्यालयमा निवेदन दिने र सो सम्बन्धमा यसअघि नै निवेदन परी फर्छ्यौट हुन बाँकी रहेका पुराना निवेदन फर्छ्यौट गर्ने म्याद यो सूचना प्रकाशन भएको मितिले दुई वर्ष तोकेकोले यो सूचना प्रकाशन गरिएको छ’, सूचनामा उल्लेख छ ।
झण्डै ८ वर्ष देखि छुट जग्गा दर्ता गर्न रोक लगाइएको थियो । दर्ता रोकिदा यसबाट जग्गाको नापजाँच भएको र भोगचलन गर्दै आएका जग्गाधनीहरू मर्कामा परेका थिए । उनीहरूले जग्गाको बेचबिखन गर्न, बैंकमा धितो राखी धरौटी लिन तथा नामसारी गर्न पाएका थिएनन् ।
माघ १२, २०८० मा प्रकाशित