
काठमाडौं । बागमती प्रदेश सभा सदस्य एवं नेपाल बुद्धिजिवी परिषद्का अध्यक्ष दिनेशचन्द्र देवकोटाले विश्वका बुद्धिजीविहरुलाई एउटै मञ्चमा गोलबन्द गर्नुपर्ने बताएका छन् ।
यही फागुन ३ देखि ७ गतेसम्म काठमाडौंमा विश्व सामाजिक मञ्चले गर्ने कार्यक्रमको पूर्वतयारी का लागि आयोजित छलफलका क्रममा उनले यस्तो बताएका हुन् ।
नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा हुने कार्यक्रममा नेपालमा लेफ्ट टु सेन्टर, शान्तिपूर्ण रुपमा गणतन्त्र स्थापना, शसस्त्र युद्ध र सोको शान्तिपूर्ण अन्त्य, धर्म निरपेक्ष, समावेशीकरण, नेपालको समाजवादउन्मुख संविधान, प्यालेस्टाइन युद्ध, जलवायु परिवर्तन, शान्ति र निःशस्त्रीकरण, सिमान्त र पिछडिएको वर्ग, तेस्रो लिंग, भूराजनीतिलगायत विषयमा छलफल हुनेछ ।
यसैगरी, विभिन्न मुलुककका फोरम, सभा, सम्मेलन, संवाद, अन्तरक्रियाका साथै झाँकी र आन्दोलनका स्वरुपहरुसमेत प्रदर्शन हुनेछन् ।
सो क्रममा प्रतिनिधिसभा सदस्य तथा नेपाल बुद्धिजिवी परिषद्की इन्चार्ज विद्या भण्डारीले सोसोलिस्टहरुले विकल्पसहितको रुपान्तरणको विषय बोकेर हिँड्नुपर्ने बताइन् । शासकीय व्यवस्थामध्ये गणतन्त्र सबैभन्दा उत्तम विकल्प भएको उनको भनाइ छ ।
विश्वलाई एकीकृत गर्ने विषय मूल चुनौतीको रुपमा रहेको बताउँदै उनले भनिन्, ‘विश्वलाई एकीकृत गर्ने विषय चुनौतीको रुपमा छ । विश्व अर्थतन्त्रको नेतृत्व गर्ने विभिन्न पोलहरु खडा भएका छन् ।’
यस्तै, कार्यक्रमको संयोजक डाक्टर नेत्र तिल्सिनाले विश्व सामाजिक मञ्चले काठमाडौंको भृकुटीमण्डपमा हुन लागेको जानकारी दिए । उनले नवउदारवाद, भूमण्डलीकृत पुँजिवाद, जलवायु संकट, पितृसत्ता, जाति तथा रंगभेद, नश्लभेद एवं लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायविरुद्ध हुने हिंसा, विभेद, द्वेषकाविरुद्धमा एकजुट भएर गरिने विश्वभरका आन्दोलन र नागरिक समाजका संगठनहरुको सामूहिक शक्तिलाई प्रतिनिधित्व गर्ने बताए ।
‘विश्व सामाजिक फोरमले गर्ने कार्यक्रममा ३७० वटा कार्यक्रम हुनेछन् । श्रीलंका, पाकिस्तान, ल्याटिन अमेरिका, अमेरिका, ब्राजिललगायत ९१ देश र संयुक्त राष्ट्र संघ, आइएलओलगायत विभिन्न संघ संस्थाको सहभागिता हुनेछ,’ उनले भने, ‘ कार्यक्रममा १३०० वटा मुभेन्ट हुनेछन् । विभिन्न देशका कला तथा संस्कृति प्रदर्शन पनि हुनेछन् । ¥याली पनि हुनेछ ।’
यस्तै, परिषद्का उपमहासचिव शुशील विकले कम्यूनिष्ट आन्दोलन र समाजवादको विकास, नेपालको मौलिक विषयवस्तुलगायत कार्यक्रमको आयोजना गरिएको बताए ।
बुद्धिजिवी परिषद्का महासचिव गजेन्द्र थपलियाले कार्यक्रम सञ्चालन गरेका थिए ।
कार्यक्रममा सहभागी हुन संसारभरबाट सामाजिक आन्दोलनका प्रतिनिधिहरू नेपाल आउने क्रम सुरु भइरहेको छ। मजदुर आन्दोलनबाट अन्तर्राष्ट्रिय ड्रेड युनियनकै अध्यक्ष, महासचिव आउने भएका छन् ।
सन् २००१ मा ब्राजिलबाट सुरु भएको हो। त्यसमा महिला अधिकार आन्दोलन, किसान अधिकार आन्दोलन, मजदुर, युवा, यौनिक तथा लैंगिक अल्पसंख्यक, दलित अथवा जातीय विभेदमा परेका वर्ग समुदायका आवाज उठाइन्छ।
माघ २६, २०८० मा प्रकाशित