सन्तोषी बनिन स्वर्ण पदक जित्ने पहिलो नेपाली महिला

७ वर्ष अगाडि प्रकाशित
7 years अगाडि

3 views

काठमाडौं : दशरथ रंगशालामा मंगलबार नेपाली एथलेटिक्सले इतिहास रचेको छ। १३औं दक्षिण एसियाली खेलकुदको एथलेटिक्समा सन्तोषी श्रेष्ठ सागको इतिहासमा एथलेटिक्सतर्फ स्वर्ण पदक जित्ने पहिलो नेपाली महिला बनिन्। महिला १० हजार मिटर दौडमा सन्तोषीले स्वर्ण जित्दा रंगशाला क्षणभरका लागि स्तब्ध बन्यो। सन्तोषीले उक्त स्पर्धामा स्वर्ण जित्ने कल्पना न उनका प्रशिक्षकले गरेका थिए न त अन्य खेल पदाधिकारीले नै। खेल सुरु भयो। सहभागी धावक आआफ्नो ट्र््याकबाट दौडन सुरु गरे। दौडको सुरुदेखि नै सन्तोषीले प्रतिद्वन्द्वीलाई पछाडि पारिन्। १० हजार मिटर दूरी पूरा गर्न दौडका सहभागीले रंगशालामा बिछ्याइएको ट्र्याक पछ्याउँदै २५ चक्कर लगाउनुपर्ने थियो। आफ्नै गतिमा दौडिएकी सन्तोषीले अन्तिम समयसम्म प्रतिद्वन्द्वीलाई उछिन्ने अवसर दिइनन्। दक्षिण एसियाली एथलेटिक्समा दबदबा कायम गरेका भारत र श्रीलंकाका धावकले उनलाई निरन्तर पछ्याइरहेका थिए। तर, अन्तिम ५० मिटरको दौड बाँकी रहँदा भारतीय धाविका कविता यादवले आफ्नो गति बढाएर सन्तोषीलाई उछिन्ने प्रयास गरिन्। प्रतिद्वन्द्वीको चलाखी बुझेकी सन्तोषीले अन्तिम समयमा जम्प गर्दै कविताभन्दा पहिले लक्ष्य पूरा गरिन्। दर्शकले हेर्दा सन्तोषी र कविता दुवैले एकै समयमा दौड पूरा गरेजस्तो देखिए पनि रंगशालामा जडान गरिएको ‘फोटो फिनिसिङ क्यामरा’ मा कैद भएको दृश्यले सन्तोषीले बाजी मारेको स्पष्ट संकेत गर्‍यो। त्यसपछि नतिजामा कुनै विवाद रहेन। सन्तोषीले नेपालका लागि ऐतिहासिक पदक जितिन्। सन्तोषीले निर्धारित दुरी पूरा गर्न ३५ मिनेट ०७.९४ सेकेन्ड समय खर्चिइन्। रजत पदकमा समेटिएकी भारतीय खेलाडी कविताले ३५ मिनेट ०७.९५ सेकेन्डमा दौड पूरा गरिन्। एक मिलिसेकेन्डको अन्तरका कारण सन्तोषीको पोल्टामा स्वर्ण पदक पर्‍यो। उक्त स्पर्धामा श्रीलंकाली खेलाडी निलान्थी लंकाले कांश्य पदक हात पारिन्। उनले दौड पूरा गर्न ३५ मिनेट ५९.०२ सेकेन्ड लगाइन्। सन्तोषीले लेन ६ र कविताले लेन एकबाट दौड सुरु गरेका थिए। निलान्थी भने लेन तीनमा थिइन्। उक्त स्पर्धामा श्रीलंकाकी हिरुनी केशरा चौथो, भारतकी आरती दत्तात्रय पाँचौं, नेपालकी विश्वरूपा बुढा छैटौं र माल्दिभ्सकी मरियम अब्दुल सातौं स्थानमा रहे। दक्षिण एसियाली खेलकुदमा सन्तोषीको यो पहिलो सहभागिता हो। ‘पहिलो सहभागितामै स्वर्ण पदक जित्छु भन्ने लागेको थिएन। कुनै न कुनै पदक जित्ने विश्वास भने थियो’, देशलाई ऐतिहासिक स्वर्ण दिलाएपछि सन्तोषीले भनिन्, ‘यो मेरा लागि निकै ठूलो उपलब्धि हो। यो पदकले आगामी प्रतियोगितामा अझ राम्रो गर्न मेरो आत्मविश्वास पनि बढाएको छ।’ धादिङ ज्वालामुखीकी २६ वर्षीया सन्तोषीलाई रघुराज वन्तले लामो समय प्रशिक्षण गराएका थिए। सन्तोषीको खेलमा निखार ल्याउन वन्तको ठूलो योगदान छ। वन्त भन्छन्, ‘सन्तोषी प्रतिभावान् खेलाडी हुन्। अझ राम्ररी प्रशिक्षण गराउन सके उनले एसियाली खेलकुदमै पनि पदक जित्न सक्छिन्।’ उनले १३औं सागको पाँच हजार मिटर दौडमा पनि भाग लिएकी छन्। उनको यो स्पर्धा भने बिहीबार परेको छ। सन्तोषीले आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको पाँच हजार मिटर दौडमा स्वर्ण पदक जितेकी थिइन्। आठौं राष्ट्रिय खेलकुदमा प्रदेश नम्बर ३ बाट प्रतिस्पर्धा गरेकी सन्तोषीले पाँच हजार मिटर दौडमा राष्ट्रिय कीर्तिमान पनि बनाएकी थिइन्। दाङको बेलझुन्डीमा भएको उक्त प्रतिस्पर्धामा सन्तोषीले पाँच हजार मिटर दौड १६ मिनेट ३८.५३ सेकेन्डमा पूरा गरेकी थिइन्। त्यसअघि उक्त कीर्तिमान काछीमाया कोजूको नाममा थियो। कान्छीमायाले सन् २०१० मा चीनको गोन्झाउमा आयोजना भएको १६औं एसियाली खेलकुदमा १६ मिनेट ४९.९६ सेकेन्डको कीर्तिमान बनाएकी थिइन्। सन्तोषीले अध्ययनका क्रममा काठमाडौंमा बसेर प्रतियोगिताको तयारी गरेकी थिइन्। उनले पब्लिक हेल्थ विषयमा स्नातक गरेकी छन्।

प्रतिक्रिया

COMMENTS TEST

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर

ताजा समाचार

Lekali News copyright © 2019 News. All Rights Reserved.