भारतीय गृहमन्त्रीको दाबी- नेपालीलाई सजिलै नागरिकता मिलिरहेको छ

७ वर्ष अगाडि प्रकाशित
7 years अगाडि

3 views

२४ मंसिर, काठमाडौं । भारतीय गृहमन्त्री अमित शाहले नेपाली नागरिकहरुलाई भारतमा सजिलैसँग नागरिकता मिलिरहेको दाबी गरेका छन् । मन्त्री शाहले सन् १९५० को सन्धीको हवाला दिँदै भारतमा नेपालीहरुले नागरिकता पाइरहेको बताएका हुन् । भारतमा राष्ट्रिय बहस र विवादको विषय बनेको नागरिकता संशोधन विधेयकमाथि उठेका प्रश्नहरुको जवाफ दिन गृहमन्त्री शाह सोमबार राति भारतीय तल्लो सदन लोकसभामा उपस्थित भएका थिए । सदनमा गर्मागर्मी बहस र होहल्लाका वीच एक घण्टाभन्दा बढी समय बोलेका गृहमन्त्री शाहले नेपालको सन्दर्भसमेत कोट्याए । नागरिकता संशोधन विधेयकमा बंगलादेश, पाकिस्तान र अफगानिस्तान तीन देशका शरणार्थीलाई मात्रै नागरिकता दिने प्रावधान किन राखियो भन्ने प्रश्नको जवाफ दिँदै भारतीय गृहमन्त्री शाहले लोकसभामा भने, ‘युगान्डाबाट आएकालाई कांग्रेस सरकारले शरण दियो, नागरिकता दियो । अहिले तीन देशलाई मात्रै किन लिइरहेको छ ? चीनलाई किन लिइएन ? नेपाललाई किन लिइएन ? श्रीलंकालाई किन लिइएन ? म्यानमारलाई किन लिइएन ? जब-जब नागरिकताका बारेमा निर्णय लिइन्छ, कुनै एक निश्चित आधारमा लिने गरिएको छ ।’ लोकसभामा बोल्दै गृहमन्त्री शाहले भने, ‘नेपालीको जहाँसम्म कुरा छ, मान्यवर ! १९५०, ३१ जुलाईमा भारत-नेपाल शान्ति एवं मैत्री सन्धि अनुच्छेद ७ – दुवै देश आफ्नो-आफ्नो क्षेत्रमा दोस्रो देशका नागरिकलाई निवास, सम्पत्तिको स्वामित्व, व्यापार, वाणिज्यसम्बन्धी अधिकार दिनका लागि सहमत भएका छन् । नेपाली नागरिकलाई पनि अर्जी (आवेदन) का आधारमा आज पनि सजिलैसँग नागरिकता मिलिरहेको छ । यसमा कुनै बाधा छैन ।’ गृहमन्त्री शाहले राजीव गान्धीकै पालामा आसाममा सन् १९७१ को ‘कट अफ डेट’ राखेर सबैलाई भारतीय नागरिकता दिइएको र त्यसलाई आफूहरुले समेत मानेको बताए । उनले भने, ‘आसाममा राजीव गान्धीले १९७१ लाई कट अफ डेट मानेर नागरिकता दिए । एक देशको नागरिक अर्को देशमा गएर नागरिकता लिन सक्छ । ग्रीनकार्ड के आधारमा लिइन्छ ?’ संशोधित नागरिकता विधेयकबाट पूर्वोत्तर भारतका कसैले पनि डराउनु नपर्ने भन्दै शाहले आश्वस्त पार्ने प्रयास गरे । ‘पूर्वोत्तर भारतका धेरै मानिसहरुमा भय खडा गर्ने प्रयास भइरहेको छ । कोही पनि आक्रान्त हुन जरुरी छैन’ भारतीय गृहमन्त्री शाहले संसदमा भने, ‘पूरै उत्तरपूर्वका सबै राज्यको चिन्ताको निराकरण यस विधेयकमा समाहित छ । कोही उक्साहटमा नआउनुहोला । कुनै आन्दोलन नगर्नोस् । धेरै भइसकेको छ, अब यो देश शान्तिका साथ अघि बढ्न चाहन्छ ।’

प्रतिक्रिया

COMMENTS TEST

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर

ताजा समाचार

Lekali News copyright © 2019 News. All Rights Reserved.