बजार सुधार गर्ने नाममा ३० लाख चल्ला नष्ट

७ वर्ष अगाडि प्रकाशित
7 years अगाडि

12 views

काठमाडौं : नेपाल ह्याचरी उद्योग संघले बजार सुधार गर्ने नाममा एकलौटी निर्णय गरी साना किसानदेखि व्यावसायिक ह्याचरीको ब्रोइलर र कोइलर जातको जिउँदो चल्ला नष्ट गरेको छ। संघका पदाधिकारीले फार्ममा जबरजस्ती प्रवेश गरी चल्ला मार्न थालेको गुनासो साना किसानहरूको छ। व्यावसायिक लाभ लिन जिउँदो चल्ला मारेको भन्दै किसानहरूले खेद व्यक्त गरेका छन्। संघले कुखुराका ३० लाख जिउँदो चल्ला खाल्डोमा गाडेको छ। बजारमा ब्रोइलर र कोइलरको मासुको मूल्य बढाउन संघले निर्मम तरिकाले चल्ला मारेको हो। ती चल्लाको मूल्य १५ करोड रुपैयाँ पर्छ। संघले मंसिर २९ गतेदेखि पुस ८ गतेसम्म देशभरका ह्याचरीबाट चल्ला उत्पादन गर्न नदिने नीति लिएको छ। यसै क्रममा काठमाडौं, चितवन, पोखरा, बुटवल, धनगढीलगायत सहरमा एक दिनमै ३० लाख चल्ला मारिएको हो। संघका पदाधिकारीले चल्ला राखिएको क्रेटमा चिसो र तातो पानी खन्याइदिएका छन्। यस्तै कतिपय ठाउँमा जिउँदै पुरिदिएका छन्। संघले ४५ करोड मूल्यको चल्ला निस्कने अण्डासमेत नियन्त्रणमा लिएर गाडेको छ। मागभन्दा बढी उत्पादन हुँदा मूल्य नपाएको भन्दै जिउँदो चल्ला नष्ट गरेको संघले जनाएको छ। संघका केन्द्रीय अध्यक्ष टीकाराम पोखरेलले कुखुरा व्यवसाय व्यवस्थित गर्न तथा किसानलाई लागत मूल्य उपलब्ध गराउन चल्ला र अण्डा नष्ट गरिएको बताए। उनका अनुसार चल्ला नष्ट गर्ने अभियान एक सातासम्म जारी रहनेछ। ‘मागभन्दा बढी कुखुरा उत्पादन भएका कारण किसान र ह्याचरी व्यवसायीले मूल्य नपाएकाले लागत मूल्य उपलब्ध गराउन चल्ला र अण्डा नष्ट गरेका छौं,’ पोखरेलले अन्नपूर्णसँग भने, ‘बजार व्यवस्थित गर्न चल्ला उत्पादनमा रोक लगाएका छौं।’ संघले आफ्नो निर्णय मान्न ह्याचरी उद्योगलाई पनि बाध्य पारेको छ। निर्णय नमान्ने उद्योगमा संघका पदाधिकारी नै पुगेर चल्ला र अण्डा नष्ट गर्दै आएका छन्। अध्यक्ष पोखरेलका अनुसार बजारमा एक सातामा ३० लाख चल्ला माग हुन्छ। तर ४५ लाख चल्ला उत्पादन भइरहेको छ। १० दिनमा ६० लाख चल्ला उत्पादन हुन्छ। ६० लाख चल्ला कमी भएपछि बजारमा कुखुराको मासुको अभाव हुन्छ। मासु अभाव गराएर मूल्य बढाउने तयारी ह्याचरी संघको छ। लेयर्स, ब्रोइलर र कोइलर जातका चल्ला उत्पादन गर्ने ह्याचरी देशभर तीन सय छन्। भरतपुरको फूर्तिचोकस्थित बूढानीलकण्ठ ब्रिडर्स फार्म प्राइभेट लिमिटेडका अध्यक्ष देवेन्द्र श्रेष्ठले संघका पदाधिकारीले जबरजस्ती फार्ममा पसेर पाँच हजार चल्ला नष्ट गरिदिएको बताए। ‘संघले आफ्नो निर्णय मान्न दबाब दिएको छ,’ श्रेष्ठले भने, ‘चल्ला उत्पादनमा ह्याचरी संघले दादागिरी देखायो।’ पशु कल्याण संघका अध्यक्ष स्नेहा श्रेष्ठले मुलुकी ऐनमा कुनै पनि पशुपन्छीलाई यातना दिएर मार्न नपाइने व्यवस्था रहेको बताइन्। पशुपन्छीलाई यातना दिएर मारेमा तीन महिना कैद वा ५० हजारसम्म जरिबाना गराउने व्यवस्था छ। श्रेष्ठले भनिन्, ‘व्यावसायिक लाभ लिनकै लागि जिउँदो चल्ला मार्नु जघन्य अपराध हो। जुन चल्लाबाट पैसा कमाउने हो, त्यसैलाई यातना दिएर मार्नेलाई कारबाही गर्नुपर्छ।’ उपभोक्तावादी माधव तिमल्सिनाले उपभोक्ता संरक्षण ऐनविपरीत ह्याचरी संघले एकलौटी रूपमा चल्ला उत्पादन क्षेत्रमा सिन्डिकेट कायम हुने गरी कार्टेलिङ गरेको बताए। ‘संघले चल्ला उत्पादन बन्द गरेर मासु उत्पादनमा कमी ल्याउन खोजेको छ,’ तिमल्सिनाले भने, ‘कुखुराको मासुको कृत्रिम अभाव सिर्जना गरी आफूखुसी मूल्य तोक्न खोजिएको छ।’ नेपाल कुखुरापालक किसान संघका केन्द्रीय अध्यक्ष झनक पौडेलले ह्याचरी संघले किसानसँग सल्लाह नगरी चल्ला नष्ट गरिरहेको बताए। उनले ह्याचरी संघ, दाना उत्पादक संघ र कुखुरा व्यवसायी संघ मिलेर मूल्य निर्धारण गरी किसानलाई लागत मूल्यभन्दा कम मूल्य उपलब्ध गराएको बताए। ‘संघले गरेको यो निर्णय अत्यन्त निन्दनीय र त्रूmर छ। व्यावसायिक लाभ लिनका लागि जिउँदो चल्ला मार्नु खेदजनक छ,’ पौडेलले भने।  

प्रतिक्रिया

COMMENTS TEST

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर

ताजा समाचार

Lekali News copyright © 2019 News. All Rights Reserved.