सिन्धुलीमा जन्ती बोकेको टिपर दुर्घटना: दुई जनाको मृत्यु, चारको अवस्था गम्भीर


सिन्धुलीमा जन्ती बोकेको टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। आइतबार राति दुधौली नगरपालिका-५ स्थित ठाकुरखोलाको तीन नम्बर पुलमा टिपर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बुद्धिमणि नेपालले जानकारी दिए। उनका अनुसार बाडेगाउँबाट बेहुली लिएर उदयपुरको कटारी जाँदै गरेको ना ३ ख ७४९० नम्बरको टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो। उदयपुर कटारी नगरपालिका घर भएका २४ वर्षीय अजय दनवार र १९ वर्षीय दिपेन्द्र कुँवरको मृत्यु भएको हो।

‘उनीहरूको उपचारको क्रममा मृत्यु भएको हो,’ प्रहरी निरीक्षक नेपालले भने। बेहुला-बेहुली अर्कै गाडीमा गएका थिए। जन्ती बोकेको टिपर आफैं अनियन्त्रित भएर दुर्घटनामा परेको प्रहरी निरीक्षक नेपालले बताए। 

टिपरमा चालकसहित २८ जना सवार थिए। दुर्घटनामा परी ६ जना गम्भीर घाइते भएका थिए। बाँकी चार जनाको अवस्था भने अझै गम्भीर रहेको उनले बताए। घाइतेको उपचारको लागि दुई जनाको दुधौलीस्थित अस्पताल, चार जनालाई काठमाडौं र ८ जनालाई विराटनगर पठाइएको छ।१० जनाको सामान्य उपचारपछि डिस्चार्ज भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।  

फाल्गुन ३०, २०७८ मा प्रकाशित

132 views

प्रतिक्रिया

मुख्य समाचार