
अपहरणको मुद्दामा पीडित परिवारले दिएको कमजोर बयान र परिस्थितिजन्य प्रमाण पर्याप्त नहुँदा १६ मंसिर २०७८ मा जिल्ला कारागार, मोरङबाट छुटेका चौधरी फेरि अर्को महिना फागुनमा उस्तै शैलीबाट गम्भिर प्रकृतिको अपराधमा संलग्न भएका हुन्
२९ फागुन, काठमाडौं । गत वर्ष फागुन महिनामा भएको एउटा अपराधलाई नजरअन्दाज गर्दा मोरङमा १६ महिने नाबालिकाले ज्यान गुमाउनु परेको छ । मोरङको सुन्दरहरैंचामा १३ फागुन २०७७ मा दुई वर्षीया बालिकाको अपहरण गरेका अजय चौधरीलाई पीडितका आफन्तले ‘छाडिदिँदा’ अर्को गम्भीर घटना भएको हो ।
अपहरणको मुद्दामा पीडित परिवारले दिएको कमजोर बयान र परिस्थितिजन्य प्रमाण पर्याप्त नहुँदा १६ मंसिर २०७८ मा जिल्ला कारागार, मोरङबाट छुटेका चौधरी फेरि अर्को महिना फागुनमा उस्तै शैलीबाट गम्भिर प्रकृतिको अपराधमा संलग्न भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय, मोरङका प्रमुख एसपी जनार्दन जिसीका अनुुसार २७ फागुन शुक्रबारको दिन उनै चौधरीले सोही नगरपालिकाको वडा नंं ७, गणेशपुरकी १६ महिने नाबालिकाको अपहरण र बलात्कारपछि हत्या गरेका छन् ।
घटनामा चौधरीका दाइ मिथुनको पनि संलग्नता देखिएपछि दुवै जनालाई पक्राउ गरिएको एसपी जिसीले अनलाइनखबरलाई बताए । ‘हिजो अपहरण हुँदा उनले अरु केही गर्न नपाई उद्दार भएको रहेछ, पीडितको परिवारले पनि बच्ची पायौं, छिमेकी हुन् भनेर त्यतिधेरै जोड गरेनछन्’ उनले भने, ‘तर चौधरीको मनोबल बढेपछि छुट्ने वित्तिकै उस्तै अपराधमा संलग्न भइहाले ।’
प्रहरीका अनुसार गत शुक्रबार बेलुकी साढे ५ बजे १६ महिने बालिका घरबाट खेल्दै गरेको अवस्थामा अचानक हराइन् । ‘पहिले उनी आमासँगै आँगनमा बसिरहेकी थिइन्, आमाभित्र गएका बेला चौधरीले बालिकालाई लगेको पाइएको छ’ जिसीले भने, ‘उनले बालिकालाई फकाउन चकलेट दिएको पाइएको छ ।’
जिसीका अनुसार उनी दिउँसो ३ बजेतिर गछिया खोलामा बालुवा चाल्दै गर्दा दाजुभाइको भेट भएको थियो । ‘केही समय भेटघाट र गफ भएपछि केरा बगानमा गएर गाँजा खाएको पाइएको छ’ उनले भने, ‘गाँजा खाएपछि अजयले केटी लिएर आउँछ भनेर हिँडेको बयानमा खुलेको छ ।’ त्यसक्रममा पहिले पनि घरमा एक्लै देख्ने गरेकाले आफू ती बालिकाको घरमा गएको अजयले बयान दिएका छन् ।
पहिले भाइ र दाजुले क्रमैसँग नाबालिकालाई करणी गरेको पाइएको प्रहरी बताउँछ । जिल्ला प्रहरी कार्यालय, मोरङका डीएसपी मञ्जिल मुकारुङका अनुसार करणी गर्ने क्रममा पीडित रुन थालेपछि पोल खुल्ने डरले उनीहरुले बोतल र ढुंगाले टाउकोमा हानेको पाइएको छ । ‘हानेर भागिसकेपछि बच्चीको आवाज सुनेर घरबाट खोज्दै आफन्तहरु आइपुगेछन्’ उनले भने, ‘आफन्तले उद्दार गरेर स्थानीय मेडिकलमा लगेका थिए, त्यहाँबाट गछियास्थित स्थानीय अस्पताल हुँदो नोबेल मेडिकल कलेज बिराटनगर लगिएको थियो ।’
तर राति १२ बजे उनको उपचारका क्रममा मृत्यु भएको डीएसपी मुकारुङले बताए । चौधरीद्वय चाहिँ आक्रमणपछि घटनास्थलबाट केही सयमिटर पर रहेको एक भट्टीमा गएर रक्सी खाएको पाइएको प्रहरी बताउँछ ।
फाल्गुन ३०, २०७८ मा प्रकाशित