संखुवासभा बस दुर्घटनामा १५ जनाको मृत्यु

४ वर्ष अगाडि प्रकाशित
4 years अगाडि

4 views

२६ फागुन, विराटनगर । संखुवासभाको मादी नगरपालिका–६ मा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १५ पुगेको छ ।

मादीको ओखरबोटेबाट झापाको दमकतर्फ आउदै गरेको बा ४ ख ७३५ नम्बरको बस दुर्घटना हुँदा घटनास्थलमा १४ जनाको र उपचारका क्रममा धरानमा एक जनाको गरी १५ जनाको मत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जानकारी दिएको छ ।

दुर्घटनामा मादी नगरपालिका–६ का ३८ वर्षीय इन्द्रबहादुर अधिकारी, ३० वर्षीया सीता विक, ५ वर्षीया दीक्षा कटवाल, ३२ वर्षीया अञ्जना कटवाल, मादी नगरपालिका–५ का ४५ वर्षीय दीपक दाहाल, ५२ वर्षीय श्याम शेर्पा, ५५ वर्षीय भवानी दाहालको घटनास्थलमै मृत्यु भएको छ ।

घटनास्थलमै मृत्यु हुनेहरुमा मादी नगरपालिका–४ का अन्दाजी ३५ वर्षीय उमेश भट्टराई, ३८ वर्षीय आइतबहादुर तामाङ, ३५ वर्षीय सविता राउत कार्की,  ६० वर्षीय बलबहादुर कार्की,  तेह्रथुम औशीडाँडाका ३५ वर्षीय विपिन निरौला, ताप्लेजुङकी ३१ वर्षीय समीक्षा योन्जन र ताप्लेजुङकै ८ वर्षीय सुदीप घिसिङ पनि रहेका छन् ।

त्यस्तै मादी नगरपालिका-५ कि ३० वर्षकी युका पोखरेलको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

मृतह तेह्रथुमका निरौला बसधनी तथा चालक हुन् भने मादी नगरपालिका-४ का भट्टराई सहचालक हुन् । दुर्घटनामा घाइते मादी नगरपालिका–५ बस्ने ३० वर्षीय सुवास गोले, मादी–६ की २२ वर्षीय तुलसा कटुवाल, अम्बिका विक, ५० वर्षीय डम्बरबहादुर कार्कीको धरानमा उपचार भइरहेको छ ।

उनीहरुलाई घटनास्थलबाट नेपाली सेनाको हेलिकप्टरले उद्दार गरेर बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगेको थियो ।

तीब्र गतिले दुर्घटना भएको अनुमान

संखुवासभाको मादीमा १५ जनाको मृत्यु हुने गरी भएको दुर्घटनामा परेको बस यो सडकमा एक महिनादेखि मात्र चल्न थालेको थियो । मादी नगरपालिका–४ का वडा अध्यक्ष जगत बर्माका अनुसार ओखरबोटेबाट दैनिक तीनवटा बस छुट्छन् । ‘दुर्घटनामा परेको बस बिहान साढे ६ बजे यहाँबाट दमक छुट्थ्यो, अरु बस ८ र ९ बजे धरानका लागि निस्कन्छन्,’ उनले भने, ‘बाटो कालोपत्रै छ, घटनाको प्रकृति हेर्दा हेर्दा ओभर स्पीड भएको हुन सक्छ ।’

ओखरबोटेबाट बस दुर्घटना भएको ठाउँ करिब १३ किलोमिटर टाढा पर्छ । प्रहरीका अनुसार दुर्घटनामा परेको बस चालक तेह्रथुम घर भई इटहरी बस्दै आएका विपिन निरौला हुन् । गाडी धनी पनि उनी नै हुन् । ८–९ वर्षयता गाडी चलाउँदै आएका उनले मादीको ओखरबोटेबाट दमक रुटमा एक महिना अघिमात्रै गाडी चलाउन थालेको उनका साथी राज लिम्बुले बताए ।

उनले मादी नगरपालिका–६ को सातघुम्तीको सुरुकै घुम्तीबाट गाडी तल झरेको बताए । उनका अनुसार साघुरो कालोपत्रे सडकमा अनियन्त्रित भएर खसेको देखिन्छ । विपिनले ओखरबोटे–दमक रुटमा बस सञ्चालन गर्नुअघि संखुवासभा सदरमुकाम खाँदबारीबाट झापाका लागि बस चलाउँथे । उनी रेसम फिलिली यातायात प्रालिका सञ्चालक हुन् । यो कम्पनी मातहत पाँच वटा गाडी छन् । ती सबै गाडी संखुवासभा–झापा रुटमा नै सञ्चालन हुने लिम्बूले बताए ।

‘स्थानीयसँग सल्लाहमा नै विपिनले ओखरबोटे रुटमा गाडी हालेका हुन्,’ उनले भने, ‘पेसेन्जर पनि राम्रै हुन्छन् । ओखरबोटेबाट मुख्य राजमार्ग (धरान–खादबारी सडक) जोड्ने बाटो कालोपत्रे भएपनि अलिक साँघुरो छ ।’

मादी नगरपालिकाका मेयर विदुरकुमार लिङ्थेपका अनुसार एक महिनाअघिबाट मात्रै ओखरबोटेबाट झापाका लागि बस चल्न थालेको थियो । जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी नायव उपरीक्षक लालध्वज सुवेदीले प्रारम्भिक अनुसन्धानका क्रममा तीब्र गतिमा रहेको बस अनियन्त्रित भएर दुर्घटना भएको देखिएको बताउँछन् ।

प्रतिक्रिया

COMMENTS TEST

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर

ताजा समाचार

Lekali News copyright © 2019 News. All Rights Reserved.