विवेकशील साझाले खोस्यो सांसद पौड्यालसहित २६ केन्द्रीय सदस्यको जिम्मेवारी

४ वर्ष अगाडि प्रकाशित
4 years अगाडि

2 views

विवेकशील साझा पार्टीले २६ जना नेतालाई कार्यसम्पादन समिति र केन्द्रीय समितिबाट हटाएको छ। बागमती प्रदेश सभा सांसदसमेत रहेका पार्टीका नेता रमेश पौड्यालसहित २६ केन्द्रीय सदस्यलाई पार्टीले जिम्मेवारी हेरफेर गर्ने निर्णय गरेको प्रवक्ता शरदराज पाठकले जानकारी दिए।

कार्यसम्पादन र केन्द्रीय समितिमा रहेर पनि पदीय जिम्मेवारी बहन नगरेको तथा पार्टीलाई लेबी पनि नतिरेको भन्दै विवेकशील साझाको कार्यसम्पादन समितिले २६ केन्द्रीय सदस्यलाई जिम्मेवारीमुक्त गरेको छ।

‘आइतबार (फागुन २९) बसेको पार्टीको कार्यसम्पादन समिति बैठकले पार्टीमा जिम्मेवारी बहन नगर्ने २६ जनाको जिम्मेवारी हेरफेर गरेको हो,’ प्रवक्ता पाठकले भने, ‘कार्यसम्पादन र केन्द्रीय समितिमा रहेर पनि उहाँहरूले पदीय जिम्मेवारी बहन गर्नुभएन। कतिपय साथीहरू समानान्तर गतिविधिमा संलग्न हुनुभयो, यसले पार्टीलाई नै क्षति हुने देखियो।’

२६ केन्द्रीय नेताको जिम्मेवारी खोसेकोमा एक जना बागमती प्रदेश सभा सदस्य पनि छन्। ‘उहाँले सांसदको भूमिका भने निर्वाह गरिरहनुभएको छ,’ उनले भने, ‘तर पदीय जिम्मेवारीअनुसार उहाँ केन्द्रीय समितिका बैठकमा लगातार अनुपस्थित रहनुभयो।’

पार्टीका कुनै पनि कार्यक्रममा सरिक नहुने, केन्द्रीय समिति बैठकमा लगातार अनुपस्थित हुने र कतिपयले समानान्तर गतिविधि र लेबीसमेत नतिरेकोले जिम्मेवारी हेरफेर गर्नुपरेको प्रवक्ता पाठक बताउँछन्।

‘उहाँहरूलाई केन्द्रीय समिति र कार्यसम्पादनभन्दा बाहिर राखेका हौं, हटाइएको भन्ने होइन,’ उनले भने। पार्टीको कार्यसम्पादन समिति ३१ सदस्यीय थियो।

आफूहरूलाई केन्द्रीय सदस्य र कार्यसम्पादनबाट हटाइएको नेता हरिशप्रसाद भट्टले बताए। ‘बैठकमा अनुपस्थित रहेको भनेर हामीलाई हटाइएको छ,’ उनले भने, ‘हामी अदालतलाई कुर्ने हो।’ पार्टीमा अध्यक्ष रवीन्द्र मिश्रले एकलौटी गरेको विरोधमा मिलन पाण्डे पक्ष अदालतमा गएको छ।

विवेकशील साझाले रमेश पौड्याल, केशव दाहाल, अनुषा थापा, आशुतोष तिवारी, पुकार बम, हरिशप्रसाद भट्ट, रविना अम्गाईं, सुरेश भट्ट, सुदन मानन्धर, सुरेश अर्याल, सिर्जना खड्का, सरोज गौतम, शिशिर बन्जारा, विमल तामाङ, राज्यलक्ष्मी श्रेष्ठ, रामपुकार महरा, लक्ष्मी अधिकारी, कमलेश्वर पाठक, चण्डिका तिमिल्सिना, चन्द्रिका सिग्देल, दुर्गा खत्री, भरतराज पन्त, धर्म मानन्धर, मनिष खनाल, मुना अधिकारी, भुपदेव शाहलाई जिम्मेवारीबाट हटाउने निर्णय गरेको छ।

विवेकशील साझा पार्टीमा केही समयदेखि पार्टीले लिने नीतिमा विवाद देखिएको थियो। यसअघि पार्टीले संयोजक रहेका मिलन पाण्डेलाई पनि हटाएको थियो।

प्रतिक्रिया

COMMENTS TEST

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर

ताजा समाचार

Lekali News copyright © 2019 News. All Rights Reserved.