बलात्कार मुद्दा लागेका पलको पक्षमा १२ वकिलले बहस गर्ने, आजै थुनछेक आदेश आउन सक्ने

४ वर्ष अगाडि प्रकाशित
4 years अगाडि

4 views

जिल्ला अदालत तनहुँमा पल शाहविरूद्धको बलात्कार मुद्धामा बिहीबार पनि बहस जारी छ।

पीडितका पक्षमा बुधबार ९ जना कानुन व्यवसायीले बहस गरेका थिए। पलका पक्षबाट बुधबार २ जनाले बहस गरेका थिए भने बरिष्ठ अधिवक्ता कमलामोहन वाग्लेको बहस टुङ्गिएको छैन। जिल्ला अदालतका स्रेष्तेदार मीनबहादुर कुँवरका अनुसार आज बिहान ११ बजेदेखि वाग्लेको बहस फेरि सुरू हुनेछ।

पीडितको पक्षबाट बुधबार जिल्ला न्यायाधिवक्ता रामचन्द्र शर्मा, अधिवक्ताहरू राधिका खतिवडा, मोहना अन्सारी, किशोर सापकोटा, सरिता तिवारी, टेकनारायण गौतम, विमल लामिछाने, सहायक जिल्ला न्यायाधिवक्ता विपिनराज तिवारी र अधिवक्ता शिवराज काफ्लेले बहस गरेका थिए।

पलका पक्षबाट बुधबार अधिवक्ताहरू भानुभक्त सुवेदी र परशुराम गिरीले बहस गरे। जिल्ला न्यायाधीश हरिश्चन्द्र ढुङ्गानाको इजलासमा जारी बहसमा बिहीबार पलका पक्षबाट बहस गरेका बरिष्ठ अधिवक्ता काफ्लेको बाँकी बयान दिने जनाएका छन्। त्यसपछि बरिष्ठ अधिवक्ता यदुनाथ खनाल, लव मैनाली, बार एसोसिएसन तनहुँका अध्यक्ष अधिवक्ता भानुभक्त सुवेदी, यज्ञबहादुर राना, सरिता भण्डारी, माधव घिमिरेलगायत १२ जनाले पलको पक्षबाट बहस गर्ने बरिष्ठ अधिवक्ता काफ्लेले जानकारी दिए।

थुनछेक बहसमा पीडितका पक्षबाट बहसमा उत्रिएका कानुन व्यवसायीले पीडकलाई पुर्पक्षका लागि थुनामा पठाउनुपर्ने जिकिर गरेका छन्। पीडितका पक्षबाट सुरूवाती बहस गरेकी अधिवक्ता राधिका खतिवडाले पललाई पुर्पक्षका लागि थुनामा पठाउनुपर्ने १७ वटा कारण पेश गरेकी थिइन्।

प्रतिवादी पलले कसुर गरेको अवस्था देखिए जिकिर गर्दै उनले नाबालिग बलात्कारका अभियुक्तलाई बाहिर ल्याउँदा समाजमा आतङ्कित हुने, स्वतन्त्र न्यायको सिद्धान्त विरूद्ध हुने, पीडितलाई होस्टाइलको प्रयास हुने, अपराधमा संलग्न अरोप लागेका व्यक्तिलाई समाजबाट बाहिर राख्नुपर्ने मान्यता रहेको, जघन्य फौजदारी मुद्दाका अभियुक्त रहेको र विगतमा बलात्कारसम्बन्धी मुद्दामा अदालतबाट आएका फैसलाका नजिरका आधारमा पललाई पुर्पक्षका लागि थुनामा पठाउनुपर्ने उनको जिकिर छ।

बहसका क्रममा खतिवडाले बलात्कार मुद्दाका अभियुक्तलाई लोकप्रियता वा शक्तिका आडमा छाड्न नहुने, छाड्दा प्रमाण नष्ट गर्न सक्ने लगायतका जिकिर उनले बहसमा पेश गरेकी थिइन्। बलात्कार घटना लुकिछिपी हुने भन्दै उनले प्रत्यक्षदर्शी आवश्यक नपर्ने समेत जिकिर गरेकी छिन्। पीडितको भनाइ नै सबैभन्दा ठूलो प्रमाण भएको भन्दै उनले अभियुक्तलाई पुर्पक्षका लागि थुनामा पठाउनुपर्ने बताइन्।

नाबालिग पीडितलाई आफन्तको घरमा लैजाने, मादक पदार्थ सेवन गराउने लगायतका कार्य अभियुक्तले स्वीकार गरिसकेकाले अपराध गर्न तयार भएको र घटना विवरण हेर्दा अपराध भएको तर्क उनले दिएकी थिइन्। खतिवडाले पेश गरेको १७ वटा कारण त्यसपछि पीडितका पक्षमा बहस गरेका अन्य कानुन व्यवसायीले पनि समर्थन जनाएका थिए।

यता, पलका पक्षबाट बहस गरिरहेका कानुन व्यवसायीले भने पललाई धरौटी वा तारेखमा छाड्नुपर्ने तर्क दिएका छन्। हिरासत बाहिर बसेर नै पलले मुद्दा लड्न पाउनुपर्ने उनीहरूको जिकिर रहेको प्रतिवादीका कानुन व्यवसायीले बताएका छन्।

बहस सकिए बिहीबार नै थुनछेक आदेश जारी हुन सक्ने जिल्ला अदालत तनहुँले जनाएको छ।

झुटो प्रेमको बहाना गरेर पोखरा, तनहुँ, नवलपुर लगायतका स्थानमा पटक पटक बलात्कार गरेको भन्दै नाबालिग गायिकाका परिवारले फागुन ११ गते तनहुँ प्रहरीमा जाहेरी दिएका थिए। जाहेरीका आधारमा पललाई हिरासतमा लिएर प्रहरी अनुसन्धान गरेको थियो।

जिल्ला सरकारी वकिलको कार्यालयले सोमबार अभियुक्त पललाई बलात्कार र उनका म्यानेजर कृष्ण जोशीलाई मतियारका रूपमा अधिकतम सजाय माग गर्दै सोमबार जिल्ला अदालतमा अभियोग पत्र पेश गरेको थियो।

थुनछेक बहस सकिएपछि अभियुक्तलाई पुर्पक्षका लागि जेल पठाउने कि धरौटी वा तारेखमा छाड्ने भन्ने निर्णय आउनेछ।

प्रतिक्रिया

COMMENTS TEST

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर

ताजा समाचार

Lekali News copyright © 2019 News. All Rights Reserved.